बाँके । लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगञ्जले सञ्चालन गरेको विशेष अपरेसनमा आधा किलोभन्दा बढी खैरो हेरोइनसहित दुई जना लागूऔषध कारोबारी पक्राउ परेका छन्। असई (प्रहरी सहायक निरीक्षक) नवीन कुमार शाहीको कमाण्डमा खटिएको टोलीले ५२६ ग्राम २९० मिलिग्राम खैरो हेरोइन, लाखौँ रुपैयाँ नगद तथा अन्य सामग्री बरामद गर्दै लागूऔषध तस्करीविरुद्ध उल्लेखनीय सफलता हासिल गरेको हो।

ब्यूरोका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–४ का ३० वर्षीय सुशील भण्डारी र वडा नं. १० का ५५ वर्षीय अरुण कुमार जयसवाललाई विशेष सुराकीका आधारमा पक्राउ गरिएको हो।

सोमबार बिहान करिब साढे ११ बजे नेपालगञ्ज–४ स्थित न्यूरोड नजिकबाट पहिलो चरणमा सुशील भण्डारीलाई नियन्त्रणमा लिइएको थियो। उनको शरीर खानतलासी गर्दा ४२ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन र एक थान मोबाइल बरामद भएको ब्यूरोले जनाएको छ।

सुशीलको बयानका आधारमा प्रहरीले अरुण कुमार जयसवाललाई पनि पक्राउ गरेको थियो। उनको साथबाट ९४ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन, एक थान डिजिटल तराजु र एक थान मोबाइल बरामद गरिएको थियो। त्यसपछि जयसवालको डेरा कोठामा गरिएको खानतलासीका क्रममा दराजभित्र लुकाइराखिएको अवस्थामा थप ३८९ ग्राम ४५० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो। यससँगै बरामद खैरो हेरोइनको कुल परिमाण ५२६ ग्राम २९० मिलिग्राम पुगेको हो।

असई नवीन शाहीको नेतृत्वमा रहेको टोलीले पक्राउ परेका व्यक्तिहरूको साथबाट नेपाली रु. १ लाख ८० हजार र भारतीय रु. २ लाख १ हजार ४०० नगद समेत बरामद गरेको छ। दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूले भारतबाट खैरो हेरोइन नेपाल भित्र्याई बाँकेसहित विभिन्न जिल्लामा बिक्री–वितरण गर्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ। समयमै सञ्चालन गरिएको अपरेसनका कारण ठूलो परिमाणको लागूऔषध बजारमा पुग्न नपाई बरामद भएको र त्यसबाट सम्भावित रूपमा धेरै युवायुवती लागूऔषधको कुलतमा फसिनबाट जोगिएको प्रहरीको विश्वास छ।

लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगञ्जले असई नवीन शाहीको कमाण्डमा पछिल्लो समय बाँके, बर्दिया र दाङलगायत जिल्लामा निरन्तर विशेष अपरेसन सञ्चालन गर्दै ठूलो परिमाणमा लागूऔषध बरामद गर्नुका साथै तस्करीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न उल्लेखनीय सफलता हासिल गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय