विराटनगर । मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट धानको भुसामुनि लुकाएर मिनी ट्रकमार्फत ओसारपसार हुँदै गरेको १ हजार ३३ किलो गाँजा प्रहरीले बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा ट्रक चालक पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवा र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म चुनीबारीको संयुक्त टोलीले शुक्रबार दिउँसो करिब २:३० बजे को १ ख ४३७३ नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएको थियो। ट्रक उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको अवस्थामा रोकिएको थियो।

इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बू र सशस्त्र प्रहरीका डीएसपी विकासकुमार भुजेलको नेतृत्वमा खटिएको टोलीले ट्रकमा खानतलासी गर्दा पछाडिको भागमा धानको भुसका बोरामुनि कालो प्लास्टिकमा प्याक गरिएका ३१ वटा पोका फेला पारेको थियो। ती पोका खोलेर जाँच गर्दा तयारी गाँजा भेटिएको र तौल गर्दा कुल १,०३३ किलो रहेको पुष्टि भएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।

प्रहरीले धनकुटाको पाख्रीबास नगरपालिका–९ का अन्दाजी २८ वर्षीय चालक उमेश तामाङलाई पक्राउ गरेको छ। बरामद गाँजा, मिनी ट्रक तथा पक्राउ परेका चालकलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार गाँजा धनकुटाबाट ल्याई भारततर्फ तस्करी गर्ने योजना रहेको हुन सक्ने प्रहरीको आशंका छ। पछिल्ला दिनमा तराईका केही क्षेत्रमा सुरक्षा निगरानी बढेका बेला त्यसको मौका छोपेर गाँजा सीमा पार गराउने प्रयास भएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, घटनाको वास्तविक उद्देश्य र संलग्न अन्य व्यक्तिबारे अनुसन्धान जारी रहेको एसपी कटवालले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय