काठमाडौँ — नेपाल प्रहरीको नियमित गस्ती टोलीले देशका विभिन्न भागबाट ठूलो परिमाणको लागुऔषधसहित २५ जनालाई नियन्त्रणमा लिएको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उपत्यकासहित देशका प्रमुख सहर तथा सीमावर्ती क्षेत्रहरूबाट उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीले दिएको जानकारीअनुसार काठमाडौँको टेकुबाट १२ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना र तिनथाना गैरीगाउँबाट ३० ट्याब्लेट ट्रामाडोलसहित चार जना पक्राउ परेका छन्।

त्यस्तै, पूर्वका जिल्लाहरूमध्ये मोरङको विराटनगर विमानस्थलबाट १८ ग्राम ४८ मिलिग्राम र हरूचोकबाट ६ सय ५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जना समातिएका छन्। झापाको चाँदनी चोकबाट १ ग्राम २ सय ५० मिलिग्राम खैरो हेरोइन र नगद रु १२ हजार २२५ सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पश्चिम तथा सुदूरपश्चिम क्षेत्रमा पनि प्रहरीले कारबाही तीव्र पारेको छ। दाङको जुरौनीबाट सबैभन्दा बढी परिमाण अर्थात् ३५ किलोग्राम चरेससहित एक जना पक्राउ परेका छन्।

यसैगरी, बर्दियाका विभिन्न स्थान (चेपाङ बजार, डाँफे, लालपुर चोक र कोठियाघाट-ओरालीबजार) बाट आठ जना, सुर्खेतको चनौटेबाट ५ ग्राम ६ सय ९० मिलिग्राम खैरो हेरोइनसहित एक जना, कैलालीको मिलनचोकबाट दुई जना र डडेलधुराको स्याउलेबाट तीन जनालाई विभिन्न परिमाणका लागुऔषधसहित नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय