काठमाडौँ — मानव बेचबिखनको बदलिँदो शैली र डिजिटल माध्यमबाट हुने अपराधलाई नियन्त्रण गर्न नेपाल प्रहरीले साइबर ब्युरो अन्तर्गत छुट्टै ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको प्रक्रिया अघि बढाएको छ।

विश्व मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सो जानकारी दिनुभएको हो।

महानिरीक्षक कार्कीका अनुसार पछिल्लो समय मानव बेचबिखन परम्परागत ढर्राबाट बदलिएर प्रविधिको प्रयोगमार्फत ‘साइबर स्लेभरी’‘फोर्स्ड क्रिमिन्यालिटी’ (जबरजस्ती गराइने अपराध) का रूपमा देखापरेको छ। वैदेशिक रोजगारीका नाममा आकर्षक प्रलोभन देखाएर विदेश पुर्‍याउने, त्यहाँ बन्धक बनाउने र अनलाइन ठगी तथा साइबर अपराधका काममा जबरजस्ती लगाउने नयाँ प्रवृत्ति नियन्त्रणका लागि प्रहरीले विशेष रणनीति अपनाउन लागेको हो।

३ वर्षमा ५३० मुद्दा, ८६% पीडित महिला तथा बालबालिका

कार्यक्रममा महानिरीक्षक कार्कीले प्रस्तुत गर्नुभएको तथ्याङ्क अनुसार:

  • दर्ता भएका मुद्दा: पछिल्लो तीन वर्षमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी ५ सय ३० वटा मुद्दा दर्ता भएका छन्।

  • पीडितको अवस्था: कुल ७१० जना पीडितमध्ये ८६ प्रतिशत महिला तथा बालबालिका रहेका छन्।

  • उद्धार: दक्षिण पूर्वी एसियाली मुलुकहरू र भारतबाट गरिएका उद्धार अभियानमा पनि ८७ प्रतिशत महिला तथा बालबालिका नै परेका छन्।

  • पुरुष पीडितको वृद्धि: तथ्याङ्कले महिला र बालबालिका बढी प्रभावित देखाए पनि पछिल्लो समय पुरुष पीडितहरूको सङ्ख्यामा समेत उल्लेख्य वृद्धि भएको छ।

संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनलाई उद्धृत गर्दै उहाँले दक्षिण एसियामा मानव बेचबिखनबाट प्रभावित हुने प्रमुख चार मुलुकभित्र नेपाल पनि पर्ने चिन्ताजनक अवस्था रहेको बताउनुभयो।

अब पीडितको मानसिक र आर्थिक क्षतिको पनि अनुसन्धान हुने

नेपाल प्रहरीले अब अनुसन्धानको दायरा फराकिलो बनाउने भएको छ। प्रहरी महानिरीक्षक कार्कीले अबको अनुसन्धान अपराध र अपराधी पत्ता लगाउनमा मात्र सीमित नरही पीडितले भोगेको शारीरिक, मानसिक र आर्थिक क्षतिको समेत सूक्ष्म अनुसन्धान गरिने प्रतिबद्धता जनाउनुभयो।

साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुरक्षा र कानुनी सहजीकरणका लागि भारतमा जस्तै खाडी मुलुकहरू, युरोप, अमेरिका र मलेसियामा पनि प्रहरी सहचारी (Police Attaché) खटाउन आवश्यक रहेको उहाँको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय