सिरहा — सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि त्यसको विरोधमा सिरहाका विभिन्न स्थानमा प्रदर्शन भएको छ। घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले गोलबजार र धनगढीमाईमा केही समय पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन्।

गोलबजार नगरपालिका–८ पुरानो चोक चोहर्वामा भेला भएका आन्दोलनकारीले सरकारले नै युवाको हत्या गरेको आरोप लगाउँदै नाराबाजी गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्रीको राजीनामा माग्नुका साथै प्रहरी दमन तत्काल रोक्न र गोली चलाउनेमाथि कडा कारबाही गर्न माग गरे।

यसैगरी, धनगढीमाई नगरपालिकाको कसहा क्षेत्रमा पनि स्थानीयले सडक अवरुद्ध गरी विरोध जनाएका थिए। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार आन्दोलनकारीले करिब आधा घण्टा राजमार्ग बन्द गराएका थिए। प्रहरी र प्रदर्शनकारीबीचको छलफलपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सोही घटनालाई लिएर सुनसरीसहित तराईका विभिन्न जिल्लामा विरोध प्रदर्शन भइरहेको छ।

सम्भावित तोडफोड र अप्रिय घटना हुन नदिन सिरहा प्रहरीले राजमार्गका संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पार्दै थप टोली परिचालन गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय