काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र अनिवार्य रूपमा हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ।

प्रधान कार्यालयले जारी गरेको सूचनामा सम्बन्धित प्रहरी कर्मचारीहरूलाई सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आफू कार्यरत कार्यालय वा नेपाल प्रहरी प्रधान कार्यालयमा उपस्थित भई गैरहाजिरीको कारणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।

प्रहरीले तोकिएको अवधिभित्र हाजिर नभए वा चित्तबुझ्दो स्पष्टीकरण पेश नगरे प्रचलित प्रहरी नियमावली तथा कानुनी व्यवस्थाअनुसार विभागीय कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट गरेको छ।

नेपाल प्रहरीले अनुशासनलाई संगठनको मूल आधार मान्दै लामो समयसम्म बिना जानकारी गैरहाजिर रहने कर्मचारीविरुद्ध नियमित रूपमा कानुनी प्रक्रिया अघि बढाउँदै आएको जनाएको छ। यसअघि पनि पटक–पटक सार्वजनिक सूचना जारी गर्दै गैरहाजिर प्रहरी कर्मचारीलाई कार्यालयमा उपस्थित हुन आह्वान गरिएको थियो।

प्रहरी स्रोतका अनुसार तोकिएको समयभित्र उपस्थित नभए सम्बन्धित कर्मचारीलाई सेवाबाट हटाउनेलगायत विभागीय कारबाहीको प्रक्रिया अघि बढ्न सक्ने कानुनी व्यवस्था रहेको छ।

नेपाल प्रहरीका अनुसार सार्वजनिक सूचनामार्फत गैरहाजिर कर्मचारीलाई अन्तिम अवसर प्रदान गरिएको हो। निर्धारित समयभित्र सम्पर्कमा नआए उनीहरूविरुद्ध कानुनबमोजिम आवश्यक विभागीय निर्णय गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय