
काठमाडौं । सक्कली अमेरिकी डलर साटिदिने भन्दै सर्वसाधारणलाई झुक्याएर लाखौँ रुपैयाँ लुट्ने गिरोहका चार जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शनिबार काठमाडौंको कपन क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार पक्राउ परेकाहरूबाट पीडितसँग लुटिएको ३ लाख ८४ हजार रुपैयाँ नगद बरामद गरिएको छ। साथै, ठगीका क्रममा पीडितलाई विश्वास दिलाउन प्रयोग गरिएको ५० अमेरिकी डलरको एक थान नोट समेत प्रहरीले फेला पारेको छ।

अनुसन्धानका क्रममा गिरोहले सुरुमा एक–दुई थान सक्कली अमेरिकी डलर देखाएर विश्वास जित्ने र त्यसपछि डलरको सट्टामा कागजको बिटो थमाइ नगद लिएर फरार हुने गरेको खुलेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई हाल जोरपाटी बस्ने ३० वर्षीय धनबहादुर तामाङ, कपन बस्ने ४१ वर्षीय लोकबहादुर तामाङ, बुढानीलकण्ठ बस्ने ३८ वर्षीय राजकुमार लामा तथा बौद्धको नयाँ बस्ती बस्ने ३७ वर्षीय विजय तामाङ रहेका छन्।
उनीहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर प्रहरी वृत्त बौद्धले थप अनुसन्धान अघि बढाइरहेको छ।




