नेपालगञ्ज । भारतसँग सीमा जोडिएको बाँकेको मुख्य जमुनाहा  सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्टर्याक्सन टोली (बीआईटी) परिचालनमा आएको छ। सीमा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामानको ओसारपसार रोक्ने उद्देश्यका साथ सशस्त्र प्रहरी प्रधान कार्यालयको निर्देशनमा उक्त विशेष टोली परिचालन गरिएको हो।

जमुनाहा नाकामा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं.३० गण बागेश्वरी बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर चन्द, सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहन बिष्ट, सीमा सुरक्षा गुल्म जमुनाहाका प्रमुख डीएसपी तीर्थ न्यौपाने तथा बिओपी जयसपुरका प्रमुख इन्स्पेक्टर हिमाल केसीको उपस्थितिमा बीआईटी टोलीले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको हो।

आइतबारदेखि देशका प्रमुख सीमा नाकाहरूमा परिचालन गरिएको बीआईटी टोली प्रत्येक स्थानमा सशस्त्र प्रहरी नायव निरीक्षकको नेतृत्वमा १४ सदस्यीय रहने व्यवस्था गरिएको छ। टोली बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सशस्त्र प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको बीआईटीको आधिकारिक पोशाकमा खटिनेछ। प्रत्येक सिफ्टमा एक महिला सशस्त्र प्रहरी कर्मचारीसमेत खटिने व्यवस्था गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बीआईटी टोलीको मुख्य जिम्मेवारी सीमा क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउनुका साथै मानव बेचबिखन तथा ओसारपसारका घटनाको रोकथाम, उद्धार र सूचना संकलन गर्नु हो। साथै, प्रतिबन्धित लागूऔषध, अवैध सामानको तस्करी तथा अन्य सीमा अपराधमाथि निगरानी बढाई आवश्यक कारबाहीमा सहयोग गर्ने जिम्मेवारी पनि टोलीलाई दिइएको छ।

प्रधान कार्यालयबाट प्रत्यक्ष परिचालन गरिए पनि बाँकेको जमुनाहामा बीआईटी सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरी बाँकेको समन्वय तथा निर्देशनमा परिचालन हुने जनाइएको छ।

बीआईटीको परिचालनसँगै जमुनाहा सीमा नाकाको सुरक्षा व्यवस्था थप प्रभावकारी हुने, अवैध गतिविधि नियन्त्रणमा टेवा पुग्ने तथा सीमावर्ती क्षेत्रमा नागरिकमैत्री सुरक्षा सेवा प्रवाह अझ सुदृढ हुने विश्वास रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय