काठमाडौं । नेपाल प्रहरीभित्र लेखा अधिकृत र लेखापालको वार्षिक सरुवा प्रक्रिया अन्तिम चरणमा पुगेसँगै आकर्षक कार्यालयमा जिम्मेवारी लिन तीव्र दौडधूप सुरु भएको छ। प्रहरी स्रोतका अनुसार सरुवाको मापदण्डअनुसार आन्तरिक लेखापरीक्षण शाखाले सम्भावित सूची तयार गरिसकेको छ भने अब अन्तिम निर्णय प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबाट हुने भएको छ।

यसपटक नेपाल प्रहरी एकेडेमी, उपत्यका ट्राफिक कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) र प्रहरी अस्पतालमा कार्यरत लेखा अधिकृतहरूको दुई वर्षे कार्यकाल पूरा भएकाले ती पदहरूमा नयाँ जिम्मेवारीका लागि प्रतिस्पर्धा बढेको स्रोतको भनाइ छ।

आईजीपी कार्की आगामी असार २१ गते अमेरिकाको भ्रमणमा जाने कार्यक्रम रहेकाले त्यसअघि नै सरुवा सूची अनुमोदन हुने सम्भावना रहेको बताइएको छ। सूचीमा आईजीपीको अन्तिम स्वीकृतिपछि मात्र सरुवा आदेश सार्वजनिक हुनेछ।

प्रहरी स्रोतका अनुसार विगतमा लेखा सरुवामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृहमन्त्रालय, उच्च सरकारी अधिकारी तथा विभिन्न शक्ति केन्द्रबाट दबाब आउने गरेको भए पनि यसपटक त्यस्तो प्रत्यक्ष हस्तक्षेप नदेखिएको दाबी गरिएको छ। त्यसैले सरुवा प्रक्रिया तुलनात्मक रूपमा मापदण्डमा आधारित र निष्पक्ष हुने अपेक्षा प्रहरी वृत्तमा गरिएको छ।

नेपाल प्रहरीमा लेखा सेवासम्बन्धी सरुवा प्रणाली विगतको तुलनामा धेरै परिवर्तन भइसकेको छ। पहिले लेखा तालिम लिएपछि कर्मचारीहरूले लामो समयसम्म एउटै विधामा कार्य गर्ने अभ्यास रहे पनि  करिव २०७३ देखि  अधिकतम सेवा अवधिको मापदण्ड लागू गरिएको थियो। सुरुमा आठ वर्ष र त्यसपछि छ वर्षको सीमा निर्धारण गरिएपछि अहिले सोही व्यवस्था कार्यान्वयनमा छ।

यद्यपि मापदण्ड लागू भए पनि आकर्षक जिल्ला र कार्यालयमा सरुवा हुन अनौपचारिक प्रभाव र पहुँचको प्रयास भने पूर्ण रूपमा अन्त्य हुन नसकेको प्रहरी वृत्तको अनुभव छ। यसपटकको सरुवा प्रक्रिया भने कत्तिको पारदर्शी र मापदण्डअनुसार हुन्छ भन्नेमा प्रहरी संगठनभित्र चासो बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय