
धनगढी । कैलालीको अत्तरिया क्षेत्रमा सञ्चालनमा रहेका तीन होटलमा प्रहरीले विशेष सर्च अपरेशन चलाउँदै होटल सञ्चालकसहित १९ जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले बिहीबार हिल्टन होटल, पुर्चौँडी होटल र अपी–नाम्पा होटलमा एकैपटक छापा मारेको थियो। अपरेशनका क्रममा अनैतिक गतिविधिमा संलग्न रहेको आशंकामा १० महिला र ९ पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरा सिंह महराका अनुसार पक्राउ परेकामध्ये केही होटल सञ्चालकसमेत रहेका छन्। होटलहरूमा गरिएको विशेष अनुगमन तथा चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
प्रहरीका अनुसार पछिल्लो समय अत्तरिया क्षेत्रमा रहेका होटल तथा लजहरूमा हुने अवैध र शंकास्पद गतिविधि नियन्त्रण गर्न नियमित अनुगमनसँगै विशेष अपरेशन सञ्चालन भइरहेको छ।
यसअघि केही दिनअघि मात्रै धनगढीमा पनि ७ जना भारतीय नागरिकसहित २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। धनगढी–अत्तरिया क्षेत्रमा यौनजन्य अवैध गतिविधि बढ्दै गएको गुनासोपछि प्रहरीले निगरानी र कारबाहीलाई थप तीव्र बनाएको जनाएको छ।



