काठमाडौं । कारागारमा रहेका एक कैदीलाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल पुर्‍याएको घटनामा संलग्न दुई जना प्रहरी कर्मचारी बर्खास्त भएका छन्।

प्रहरी स्रोतका अनुसार सुन्धारा कारागारमा ठगी अभियोगमा थुनामा रहेका अनुप भण्डारीलाई अस्पताल लैजाने क्रममा होटल पुर्‍याइएको खुलेपछि प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकलाई सेवाबाट बर्खास्त गरिएको हो।

घटना जेठ १ गतेको हो। कारागार प्रशासनबाट भण्डारीलाई सामाखुशीस्थित बिनायक अस्पतालमा उपचारका लागि लैजान अनुमति लिएर बाहिर निकालिएको थियो। तर अस्पताल पुर्‍याउनुको सट्टा उनलाई सामाखुशीस्थित दीप सागर गेस्ट हाउसमा लगेर करिब तीन घण्टासम्म बस्न दिइएको अनुसन्धानबाट खुलेको छ।

भण्डारीको सुरक्षाका लागि नेपाल प्रहरीको अनाश्रित गुल्म, जगन्नाथदेवलबाट कुँवर र विक खटिएका थिए।

उपत्यका प्रहरी कार्यालय रानीपोखरी स्रोतका अनुसार कारागार प्रशासनले घटनाबारे छानबिन गरी प्रतिवेदन प्रहरीलाई पठाएपछि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको थियो। अनुसन्धानका क्रममा अस्पताल लैजानुपर्ने कैदीलाई होटलमा लगिएको पुष्टि भएपछि दुवै प्रहरी कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको स्रोतले जनाएको छ।

घटनाले कैदी व्यवस्थापन तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीको जिम्मेवारी र अनुशासनमाथि प्रश्न उठाएको छ। प्रहरीले यस्ता घटनामा शून्य सहनशीलताको नीति अपनाउँदै आवश्यक कारबाही जारी राख्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय