
काठमाडौं । अर्घाखाँचीमा तीन वर्षअघि ‘भवितव्य मृत्यु’का रूपमा निष्कर्ष निकालिएको एक घटनामा अनुसन्धानमा गम्भीर कमजोरी भएको भेटिएपछि तत्कालीन जिल्ला प्रहरी प्रमुख डीएसपी मुकुन्द रिजाल (हाल प्रहरी उपरीक्षक–एसपी) सहित अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथि कारबाही सिफारिस गरिएको छ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–७ निवासी ४५ वर्षीय पदम केसीको मृत्यु प्रकरणमा प्रारम्भिक अनुसन्धानले भवितव्य मृत्युको निष्कर्ष निकालेको थियो। तर पछिल्लो पुनः अनुसन्धान र छानबिनबाट उक्त घटना हत्या भएको पुष्टि भएपछि त्यसबेलाको अनुसन्धान प्रक्रियामाथि प्रश्न उठेको हो।

घटनाको सत्यतथ्य पत्ता लगाउन लुम्बिनी प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी कार्यालय दाङका प्रमुख एसएसपी दिपक पोखरेलको नेतृत्वमा विशेष छानबिन समिति गठन गरेको थियो। समितिले घटनासम्बन्धी कागजात, प्रमाण, अनुसन्धान प्रक्रिया तथा त्यसबेलाका प्रहरी अधिकारीहरूको भूमिकाको अध्ययन गरेपछि अनुसन्धानमा गम्भीर त्रुटि र लापरवाही भएको निष्कर्ष निकालेको स्रोतले जनाएको छ।
छानबिन प्रतिवेदनमा तत्कालीन अर्घाखाँची प्रहरी प्रमुख डीएसपी मुकुन्द रिजालसहित मुद्दा शाखामा कार्यरत अनुसन्धान अधिकृतहरूको भूमिकामाथि प्रश्न उठाइएको बताइएको छ। प्रतिवेदनका आधारमा उनीहरूलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको प्रहरी स्रोतले जनाएको छ।
स्रोतका अनुसार घटनास्थल व्यवस्थापन, प्रमाण संकलन, फरेन्सिक पक्षको विश्लेषण तथा घटनाको समग्र अनुसन्धान प्रक्रियामा पर्याप्त सतर्कता नअपनाइएको निष्कर्ष समितिले निकालेको छ। जसका कारण हत्या भएको घटना लामो समयसम्म भवितव्य मृत्युका रूपमा रहेको बताइएको छ।
हाल एसपी मुकुन्द रिजाल कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयको प्रमुखका रूपमा कार्यरत छन्। छानबिन प्रतिवेदन सम्बन्धित निकायमा पेश भइसकेको र त्यसका आधारमा आवश्यक विभागीय प्रक्रिया अघि बढ्ने जनाइएको छ।
प्रहरी संगठनभित्र अनुसन्धानको गुणस्तर, जवाफदेहिता र व्यावसायिकता सुनिश्चित गर्न यस्ता घटनामा जिम्मेवार अधिकारीमाथि आवश्यक कारबाही गरिनुपर्ने आवाज उठ्दै आएको छ। पदम केसी मृत्यु प्रकरणमा आएको नयाँ निष्कर्षले अनुसन्धानमा हुने त्रुटिका कारण न्याय प्रक्रियामा पर्न सक्ने असरबारे पुनः बहस सिर्जना गरेको छ।



