
भैरहवा । सन्तोषकुमार पाण्डेय सवार झण्डावाला सरकारी गाडीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले कारबाही गरेको घटना अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
भैरहवाको बर्मेली टोल क्षेत्रमा लु १ झा ७४५ नम्बरको सरकारी गाडी सडक पेटी तथा ‘नो पार्किङ’ क्षेत्रमा राखिएको अवस्थामा भेटिएपछि ट्राफिक प्रहरीले चालकलाई पुर्जी थमाएको हो । मन्त्री पाण्डेय एक मारवाडी हार्डवेयर पसल उद्घाटन कार्यक्रममा सहभागी हुन पुगेका बेला उक्त गाडी जथाभावी पार्किङ गरिएको भिडियो स्थानीयले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

भिडियो भाइरल भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले घटनाको छानबिन गरी आवश्यक कारबाही अघि बढाएको जनाएको छ । ट्राफिक प्रहरीले सामाजिक सञ्जालमार्फत प्राप्त गुनासोका आधारमा सरकारी सवारी साधनलाई नियमअनुसार कारबाही गरिएको पुष्टि गरेको छ ।
मन्त्री पाण्डेय विभिन्न सार्वजनिक कार्यक्रममा प्रहरी कर्मचारीमाथि कठोर अभिव्यक्ति दिने तथा सडकमा नै सिपाही–हवल्दारलाई अपमानजनक व्यवहार गर्ने आरोपका कारण पनि बेला–बेलामा विवादमा पर्दै आएका छन् । यसपटक भने उनकै झण्डावाला गाडी ट्राफिक नियम उल्लंघनमा परेको हो ।
घटनापछि सामाजिक सञ्जालमा धेरैले “कानुन सबैका लागि बराबर हो” भन्दै ट्राफिक प्रहरीको कदमको प्रशंसा गरेका छन् । सर्वसाधारणले पहुँच र पदको आधारमा छुट नदिई गरिएको कारबाहीलाई सकारात्मक उदाहरणका रूपमा लिएका छन् ।



