काठमाडौं । दान बहादुर कार्कीको प्रमुख आतिथ्यमा नेपाल प्रहरीद्वारा “नेपाल प्रहरी रणनीतिक योजना (२०८३–०८५)” सार्वजनिकीकरण, नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणालीको शुभारम्भ तथा प्रहरी वरिष्ठ नायव निरीक्षक (प्र.व.ना.नि.) श्रीहरि के.सी.द्वारा लिखित पुस्तक मिसन दुवाकोटदेखि देश दुनियाँ को विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल प्रहरी संगठनलाई आधुनिक, प्रविधिमैत्री, पारदर्शी तथा नागरिकमैत्री बनाउने उद्देश्यसहित तयार गरिएको रणनीतिक योजना सार्वजनिक गरिएको थियो। सार्वजनिक गरिएको उक्त रणनीतिक योजनाले आगामी वर्षहरूमा प्रहरी संगठनको कार्यदिशा, सेवा प्रवाह, अपराध अनुसन्धान, मानव स्रोत विकास, प्रविधिको प्रयोग, सुशासन तथा समुदाय–प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

त्यसैगरी कार्यक्रममा नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणालीको समेत शुभारम्भ गरिएको छ। उक्त प्रणालीमार्फत नागरिकहरूले घरमै बसेर प्रहरीसमक्ष आफ्ना गुनासा, सुझाव तथा आवश्यक सहायता सम्बन्धी जानकारी सहज रूपमा पुर्‍याउन सक्ने व्यवस्था गरिएको बताइएको छ। यसले प्रहरी सेवामा पारदर्शिता, जवाफदेहिता र नागरिकको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले बदलिँदो समयसँगै नेपाल प्रहरीलाई प्रविधिमैत्री, उत्तरदायी र जनविश्वासमा आधारित संगठनका रूपमा अघि बढाउन रणनीतिक योजना तथा डिजिटल प्रणालीहरू प्रभावकारी माध्यम बन्ने बताए। उनले नागरिकको विश्वास नै प्रहरी संगठनको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै सेवा प्रवाहलाई अझ सहज, छिटोछरितो र विश्वसनीय बनाउन सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिएका थिए।

सोही अवसरमा प्र.व.ना.नि. श्रीहरि के.सी.को अनुभव, संघर्ष र सेवायात्रामा आधारित पुस्तक मिसन दुवाकोटदेखि देश दुनियाँ को समेत विमोचन गरिएको थियो। पुस्तकले प्रहरी सेवाका विविध अनुभव, सामाजिक यथार्थ तथा जीवन संघर्षका कथाहरू समेटेको बताइएको छ। कार्यक्रममा उपस्थित अतिथिहरूले पुस्तकले प्रहरी जीवनको वास्तविकता र समाजसँगको सम्बन्धलाई उजागर गर्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा नेपाल प्रहरीका उच्च अधिकृतहरू, विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू, सञ्चारकर्मी, लेखक तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय