
सुरक्षा सरोकार । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका बिचौलिया ब्यापारि दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई हिरासतमा रहँदा असामान्य र विशेष सुविधा उपलब्ध गराइएको आशंकापछि जिल्ला प्रहरी परिसर ललितपुरभित्रै हलचल मच्चिएको छ। घटनामा संलग्नताको आरोप लागेपछि केही प्रहरी अधिकारीमाथि औपचारिक छानबिन सुरु गरिएको छ भने केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) समेत अनुसन्धानमा सक्रिय बनाइएको स्रोतले जनाएको छ।
उपत्यका प्रहरी कार्यालयले डिआइजी ओमप्रसाद अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ। प्रारम्भिक रूपमा हिरासत व्यवस्थापन, भेटघाट प्रक्रिया, सुरक्षा निगरानी तथा प्रहरी आचरणसम्बन्धी विषयमा अनुसन्धान केन्द्रित गरिएको बताइएको छ।

उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी ईश्वर कार्कीले घटनाबारे गम्भीर रूपमा अनुसन्धान अघि बढाइएको जनाउँदै डिआइजी नेतृत्वको छानबिन समिति गठन गरिएको जानकारी दिएका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रि इन्स्योरेन्ससँग सम्बन्धित रकम हिनामिना तथा अवैध आर्थिक कारोबारको आशंकामा भट्ट र अग्रवालमाथि अनुसन्धान गरिरहेको छ। विभागसँग आफ्नै हिरासत सुविधा नभएकाले उनीहरूलाई अनुसन्धान अवधिभर जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको थियो।
तर, हिरासतमा रहेका बेला उनीहरूलाई अन्य थुनुवाभन्दा फरक व्यवहार गरिएको सूचना बाहिरिएपछि विवाद चर्किएको हो। स्रोतका अनुसार उनीहरूलाई मोबाइल फोन प्रयोग गर्न दिइएको, नियमितभन्दा सहज भेटघाटको व्यवस्था गरिएको तथा रातिको समयमा प्रहरी अधिकारीकै कोठामा बस्ने वातावरण मिलाइएको विषय अहिले छानबिनको मुख्य आधार बनेको छ।
यस प्रकरणमा ललितपुर परिसरका एसएसपी होबिन्द्र बोगटीमाथिसमेत शंकाको घेरामा तानिएको छ। उनले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विशेष सुविधा उपलब्ध गराउन भूमिका खेलेको आरोप लागेपछि प्रहरी संगठनभित्र समेत विषयले गम्भीरता पाएको बताइन्छ।
घटनाको संवेदनशीलता बढ्दै गएपछि विषय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुगेको स्रोतको दाबी छ। त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई समेत अनुसन्धानमा परिचालन गरिएको बताइएको छ। प्रधानमन्त्री कार्यालयनिकट स्रोतका अनुसार केही दिनअघि सिआइबीको टोली जिल्ला प्रहरी परिसर ललितपुर पुगेर आवश्यक विवरण संकलन गरेको थियो।
त्यसक्रममा सुलभ अग्रवालले प्रयोग गरिरहेको ल्यापटपसमेत नियन्त्रणमा लिएर अनुसन्धानका लागि लगिएको स्रोतले जनाएको छ। उक्त ल्यापटपबाट आर्थिक कारोबार, सम्पर्क सञ्जाल तथा सम्भावित प्रभाव प्रयोगसँग सम्बन्धित प्रमाण फेला पार्ने प्रयास भइरहेको बुझिएको छ।
यति मात्र होइन, सुलभ अग्रवाललाई सामान्य हिरासत कक्षमा नराखी छुट्टै कक्षमा राखिएको तथा अन्य थुनुवासरह व्यवहार नगरिएको विषय पनि छानबिनको दायरामा परेको छ। प्रहरी हिरासतमा रहेका सबै व्यक्तिलाई समान व्यवहार गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि त्यसको उल्लंघन भएको प्रारम्भिक निष्कर्ष निस्किएको स्रोतको भनाइ छ।
विशेष सुविधा दिइएको विषय सार्वजनिक भएपछि सुरक्षा निगरानीसमेत थप कडा बनाइएको बताइएको छ। प्रकरण बाहिरिएपछि दीपक भट्टलाई प्रहरी वृत्त बौद्धमा सारिएको छ भने सुलभ अग्रवाल स्वास्थ्यमा समस्या देखिएको भन्दै अस्पताल भर्ना भएका छन्।
उनीहरूमाथि सम्पत्ति शुद्धीकरणसँगै बैंकिङ कसुर, बिमा कसुर तथा धितोपत्रसम्बन्धी कसुरमा समेत नेपाल प्रहरीले छुट्टाछुट्टै अनुसन्धान अघि बढाएको जनाएको छ। अहिलेको छानबिनले केवल दुई आरोपीलाई दिइएको सुविधामात्र होइन, प्रहरी हिरासतभित्रको प्रणाली, पहुँच र प्रभावको प्रयोगबारे समेत गम्भीर प्रश्न उठाएको छ।




