
काठमाडौं — कृत्रिम बौद्धिकता (एआई) को दुरुपयोग बढ्दै गएकोप्रति नेपाल प्रहरी ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रहरीका अनुसार पछिल्लो समय एआई प्रयोग गरी नेपाल प्रहरीको लोगो, भेषभूषा तथा दर्ज्यानी चिन्हहरू तोडमोड गरेर भ्रामक सामग्री निर्माण तथा प्रसारण गर्ने क्रम बढ्दो छ।

यस्ता सामग्रीले समाजमा भ्रम र अफवाह फैलाउने जोखिम रहेकाले सजग रहन प्रहरीले आग्रह गरेको छ। प्रहरीको आधिकारिक फेसबुक पेजमार्फत जारी सूचनामा सुरक्षाजस्तो संवेदनशील विषयमा एआईको दुरुपयोग गरेर तयार पारिएका ‘कन्टेन्ट’ले गलत सन्देश प्रवाह गर्न सक्ने उल्लेख गरिएको छ।
प्रहरीले ‘कन्टेन्ट क्रिएटर’हरूलाई सामग्री तयार गर्दा यथार्थता र विश्वसनीयतामा विशेष ध्यान दिन आग्रह गर्दै सुरक्षा निकायका लोगो, पोशाक तथा चिन्हहरूको प्रयोग आधिकारिक मापदण्डअनुसार मात्रै गर्नुपर्ने जनाएको छ।
यसका साथै, भ्रामक सामग्री उत्पादन वा प्रसारण गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी समेत प्रहरीले दिएको छ।



