
सुरक्षा सरोकार । जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिका घिमिरेको कार्यशैलीलाई लिएर संगठनभित्र गम्भीर असन्तुष्टि बढ्दै गएको देखिएको छ। पछिल्ला घटनाक्रमसँगै उनको आक्रामक शैली, निर्णय प्रक्रिया र व्यवहारप्रति मातहतका प्रहरी कर्मचारीहरू असन्तुष्ट रहेको स्रोतहरूले बताएका छन्।
हालैको घटनाअनुसार एक तामाङ थरका प्रहरी वरिष्ठ हवल्दारले उनलाई हिजो कार्यालयमै हातपात गर्ने प्रयास गरेको खबर बाहिरिएको छ। ती वरिष्ठ हवल्दार मंगलबजार प्रहरी वृत्तबाट रमाना पत्र लिएर केही समय ढिलो जिल्ला प्रहरी परिसर ललितपुर पुगेका कारण डीएसपी घिमिरे आक्रोशित बनेको बताइन्छ।

स्रोतका अनुसार “ढिलो किन आएको” भन्ने विषयलाई लिएर भनाभन भएको र त्यस क्रममा डीएसपीले अपमानजनक शब्द प्रयोग गर्दै अपशब्दसमेत बोलेको आरोप लागेको छ। त्यसपछि परिस्थिति थप तनावपूर्ण बनेको बताइन्छ।
प्रशासनका अन्य प्रहरी कर्मचारीले समयमा हस्तक्षेप नगरेको भए अवस्था झन् तनावपूर्ण बन्न सक्ने अवस्था रहेको स्रोतहरूको दाबी छ। घटनापछि ती वरिष्ठ हवल्दारलाई केही घण्टा हत्कडी लगाएर नियन्त्रणमा राखिएको समेत बताइन्छ।
उनिको असोभनिय कार्यशैली र आन्तरिक असन्तुष्टि
डीएसपी घिमिरेको कार्यशैलीलाई लिएर प्रहरी संगठनभित्र लामो समयदेखि असन्तुष्टि रहेको बताइन्छ। उनी “कडा र आक्रामक शैली अपनाउने” अधिकृतका रूपमा चिनिने गरेको र मातहतका कर्मचारीहरूमाथि दबाबपूर्ण व्यवहार गर्ने गरेको गुनासो पटक–पटक आउने गरेको स्रोतहरूको दाबी छ।
यसैबीच, उनीमाथि पटक–पटक ललितपुरमै कार्यरत रहँदा विवाद हुने गरेको भन्दै “विवादित अधिकृतलाई किन बारम्बार सोही जिल्लामा जिम्मेवारी दिइन्छ?” भन्ने प्रश्नसमेत उठ्न थालेको छ। उनि हाल सम्म ललितपुरमा ४ पटक बसिसकेका छन् ।
डिएसपी घिमिरेका विगतका विवादहरू पनि चर्चामा
यसअघि २०७७ सालमा रौतहटको गरुडा इलाका प्रहरी कार्यालय प्रमुख हुँदा उनीमाथि स्थानीय आक्रोशको घटना भएको थियो। सो घटनामा उनी कुटपिटमा परेर घाइते भएको र करङसमेत भाँचिएको चर्चा थियो। त्यसपछि उनलाई करिब २५ दिनमै त्यहाँबाट सरुवा गरिएको तथ्य पनि स्मरण गरिन्छ।
त्यस्तै, ललितपुर प्रहरी वृत्त चापागाउँमा कार्यरत रहँदा पनि उनी विवादमा तानिएका थिए। सो क्रममा चापागाउँमै कार्यरत हवल्दार नवल किशोर रायले कार्यालयभित्रै डीएसपी घिमिरेमाथि कुटपिट गरेको घटना सार्वजनिक भएको थियो। घरबिदा माग अस्वीकृत भएपछि विवाद बढ्दै गएर राति मादक पदार्थ सेवन गरेको अवस्थामा कुटपिट भएको बताइन्छ ।
लगातार देखिएका विवाद, आन्तरिक असन्तुष्टि र पछिल्लो हातपात प्रयासको घटनाले डीएसपी घिमिरेको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ। मातहतका कर्मचारी नै असन्तुष्ट देखिनु र बारम्बार विवाद सतहमा आउनुले ललितपुर प्रहरी परिसरभित्रको अनुशासन र नेतृत्व शैलीबारे गम्भीर बहस सुरु भएको देखिन्छ। घटनाको वास्तविकता भने छानबिनपछि मात्र स्पष्ट हुने अपेक्षा गरिएको छ।
प्रहरी प्रशासनले भने घटनाबारे हालसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन। आन्तरिक रूपमा घटनाको वास्तविकता बुझ्ने प्रक्रिया अघि बढिरहेको जानकारी प्राप्त भएको छ।



