
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा पुनः प्रतिष्ठानकै स्वामित्वमा कायम राख्ने सरकारको निर्णयप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले यस निर्णयलाई नेपाल प्रहरी संगठनका लागि “ऐतिहासिक र अत्यन्त महत्वपूर्ण उपलब्धि” को रूपमा व्याख्या गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आईजीपी कार्कीले उक्त निर्णयले संगठनको संस्थागत सुदृढीकरणमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार, यसले दीर्घकालीन भौतिक पूर्वाधार विकाससँगै प्रहरीको व्यावसायिक दक्षता अभिवृद्धिमा समेत सकारात्मक प्रभाव पार्नेछ।

यसअघि २०७५ भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले महाराजगञ्जस्थित ११४ रोपनी ३ आना क्षेत्रफलको प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो। तर, हालै बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय उल्ट्याउँदै सो जग्गा पुनः प्रतिष्ठानकै स्वामित्वमा रहने व्यवस्था मिलाएको हो।
आईजीपी कार्कीले आगामी दिनमा पनि नेपाल प्रहरीको पेशागत क्षमता, मनोबल अभिवृद्धि तथा प्रभावकारी सेवा प्रवाहका लागि सरकारको निरन्तर साथ र अभिभावकत्व आवश्यक रहने धारणा राखेका छन्।



