सुर्खेत । सुर्खेतमा ट्राफिक व्यवस्थापनसँग सम्बन्धित सार्वजनिक सरोकारको विषयलाई प्रहरीले तत्काल सम्बोधन गर्दै स्पिड लिमिट बोर्ड जडान गरेको छ।

केही समयअघि सुर्खेत ट्राफिक प्रहरीले स्पिड चेकिङ गरेको स्थानमा आवश्यक स्पिड लिमिट बोर्ड नरहेको विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि सम्बन्धित निकायको ध्यानाकर्षण भएको थियो। उक्त विषयलाई गम्भीर रूपमा लिँदै कर्णाली प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी मुकुन्द रिजाल र जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर रोहित शाहीले सरोकारवालासँग तत्काल छलफल गरेका थिए।

छलफलका क्रममा सडक संरचना (Road Furniture) जडान गर्ने जिम्मेवारी सडक विभागको भए पनि ढिलाइका कारण आवश्यक पूर्वाधार समयमा उपलब्ध हुन नसकेको जानकारी दिइएको थियो। सोही कारण ट्राफिक व्यवस्थापनमा समस्या देखिएको भन्दै तत्काल समाधान गर्ने प्रतिबद्धता प्रहरी प्रशासनले जनाएको थियो।

उक्त प्रतिबद्धता अनुसार भोलिपल्टै सम्बन्धित सडक खण्डमा “यहाँ ट्राफिक चेकिङ हुँदैछ” र “स्पिड लिमिट संकेत” सहितका सूचना बोर्डहरू जडान गरिएको छ।

स्थानीय बासिन्दा तथा सडक प्रयोगकर्ताहरूले यस कदमलाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको तत्काल प्रतिक्रिया र सक्रियताको प्रशंसा गरेका छन्। विशेषगरी वीरेन्द्रनगर क्षेत्रमा ओभरस्पिडका कारण हुने दुर्घटनाको जोखिम न्यूनीकरणमा यो कदम प्रभावकारी हुने अपेक्षा गरिएको छ।

ट्राफिक प्रहरीले ३० किलोमिटर प्रतिघण्टाभन्दा बढी गतिमा सवारी नचलाउन आग्रह गर्दै नियम उल्लंघन गर्नेलाई कडा कारबाही गरिने जनाएको छ।

सार्वजनिक सरोकारको विषयलाई तत्काल सम्बोधन गर्दै गरिएको यो कार्यले नागरिक र प्रहरीबीचको सहकार्य तथा उत्तरदायी प्रशासनको उदाहरण प्रस्तुत गरेको सरोकारवालाहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय