ललितपुर । ललितपुरको मंगलबजारस्थित कृष्ण मन्दिर क्षेत्रमा मिति २०८२ चैत २५ गते साँझ करिब १९:४० बजे घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या प्रकरणमा संलग्न अभियुक्तहरूलाई हतियारसहित नियन्त्रणमा लिन सफल भएका प्रहरी कर्मचारीहरूलाई सम्मान गरिएको छ।

उक्त घटनापछि फरार रहेका अभियुक्तहरूलाई तीव्र खोजतलासका क्रममा पक्राउ गर्न सफल भएकोमा ईश्वर कार्कि उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षकले सम्बन्धित प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गर्नुभएको हो।

पुरस्कार प्राप्त गर्नेहरूमा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटी र प्रहरी प्रभाग मंगलबजारमा कार्यरत प्रहरी जवान शाहाना बोहरा रहनुभएको छ।

उहाँहरूले जोखिमपूर्ण परिस्थितिमा समेत साहस, व्यावसायिकता र तत्परताका साथ कार्य सम्पादन गरी अभियुक्तहरूलाई नियन्त्रणमा लिन सफल भएको भन्दै उच्च मूल्याङ्कन गरिएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीले उक्त सफलताले संगठनप्रति जनविश्वास थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। साथै, अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा समर्पित प्रहरी कर्मचारीहरूलाई यस्ता पुरस्कारले थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय