काठमाडौं ।नेपाल प्रहरीका प्रमुख आईजीपी दान बहादुर कार्कीले नागरिकको अपेक्षा अनुरूप छिटो, पारदर्शी र प्रभावकारी सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राख्न देशभरका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ।

प्रहरी प्रधान कार्यालयबाट बुधबार भर्चुअल माध्यममार्फत समसामयिक विषयमा गरिएको निर्देशनात्मक सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कार्कीले नागरिकलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नागरिकका गुनासा, समस्या र उजुरीको समयमै सम्बोधन गरी सेवा प्रवाहलाई विश्वासिलो बनाउनुपर्ने बताउनुभयो।

आईजीपी कार्कीले प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई छिटो काम गराइदिने नाममा प्रभावमा पार्ने, प्रलोभन देखाउने वा बिचौलियाको भूमिका खेल्ने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन निर्देशन दिनुभयो। उहाँले सबै प्रहरी कार्यालयलाई बिचौलियारहित, कानुनसम्मत, पारदर्शी र छरितो सेवा प्रणाली लागू गर्न आग्रह गर्नुभयो।

उहाँले प्रत्येक प्रहरी कार्यालयमा “नागरिक सहजकर्ता” को व्यवस्था गर्नुपर्ने बताउँदै सेवाग्राहीलाई सरल र सहज रूपमा सेवा दिन तथा उजुरी, निवेदन र जाहेरीको प्रगति विवरण SMS मार्फत जानकारी गराउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो।

आईजीपी कार्कीले शून्य सहनशीलताको नीति अपनाउँदै निष्पक्ष, पारदर्शी र गुनासोरहित सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो। प्रचलित कानुन, विधि र पद्धतिअनुसार काम नगर्ने वा अनुचित व्यवहार गर्ने जो–कोहीलाई छुट नदिइने उहाँको भनाइ थियो।

अपराध अनुसन्धानबारे बोल्दै उहाँले पारदर्शी र वस्तुनिष्ठ अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। सीमा नाकामा हुन सक्ने आपराधिक गतिविधि, तस्करी, गुण्डागर्दी तथा प्राकृतिक स्रोतको अवैध दोहनमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन प्रहरी दृढ भएर उभिनुपर्ने उहाँले निर्देशन दिनुभयो।

आईजीपी कार्कीले प्रहरी कर्मचारीलाई थप अनुशासित, निष्ठावान र इमानदार बन्न आग्रह गर्दै सेवाग्राहीसँगको व्यवहार, बोली र प्रस्तुतिमा सुधार ल्याउन निर्देशन दिनुभयो। उहाँले प्रत्येक प्रहरी इकाइले आफ्नो क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधिको पूर्वानुमान गरी आवश्यकता अनुसार सुरक्षा योजना र रणनीति बनाएर प्रभावकारी परिचालन गर्नुपर्ने बताउनुभयो।

सवारी दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गरेर थप सक्रियता देखाउनुपर्ने तथा जनचेतना अभिवृद्धिमा विशेष ध्यान दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

त्यसैगरी, सम्भावित विपद्जन्य घटनाबाट जनधनको क्षति कम गर्न प्रहरी सधैं तयारी अवस्थामा रहनुपर्ने आईजीपी कार्कीको भनाइ थियो। जोखिमयुक्त क्षेत्रमा पूर्वअभ्यास, सचेतना र उद्धार तयारीलाई प्राथमिकतामा राख्न तथा आवश्यक स्रोत–साधनको अधिकतम उपयोग गर्न उहाँले निर्देशन दिनुभयो।

भीड नियन्त्रण तथा व्यवस्थापनका क्रममा विगतका कमजोरी सुधार गर्दै बल प्रयोगको सिद्धान्तअनुसार मात्र कारबाही गर्नुपर्ने उहाँले स्पष्ट गर्नुभयो। सामाजिक सञ्जालको प्रयोगदेखि दैनिक जिम्मेवारी निर्वाहसम्म प्रत्येक प्रहरी कर्मचारीले उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय