
काठमाडौं । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य केपी खनालले सुदूरपश्चिमको गेटास्थित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनतर्फ ऐतिहासिक प्रगति हासिल भएको बताएका छन्।
उनका अनुसार लामो समयदेखि भइरहेको निरन्तर पहल, समन्वय र प्रयासपछि विश्वविद्यालय सञ्चालनका लागि महत्वपूर्ण आधारहरू सुनिश्चित भएका छन्। “सुदूर अब टाढा छैन,” भन्दै उनले यस उपलब्धिलाई क्षेत्रीय विकासका लागि महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे।

खनालका अनुसार विश्वविद्यालयका लागि आवश्यक ७५ प्रतिशत छात्रवृत्तिको वित्तीय स्रोत सुनिश्चित भइसकेको छ। साथै आर्थिक वर्ष २०८२/८३ को जेठ र असार महिनाका लागि चिकित्सकहरूको तलबबापत ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
त्यसैगरी, विश्वविद्यालय सञ्चालनको तयारीस्वरूप सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८२ तथा शिक्षक/कर्मचारी नियमावली अर्थ मन्त्रालयको पूर्वस्वीकृतिसहित पारित गरिएको उनले जानकारी दिए। आगामी २५ गते बस्ने सिनेट बैठकले यसलाई थप औपचारिकता दिने अपेक्षा गरिएको छ।
उनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक २ अर्ब ५३ करोड रुपैयाँ बजेट सुनिश्चित गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरिएको पनि बताए।
विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि विभिन्न स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। जसअन्तर्गत MBBS मा ५० सिट, Nursing मा ३० सिट, B.Sc. MLT मा २० सिट तथा B. Optometry मा २० सिट निर्धारण गरिएको छ।
सांसद खनालले यस उपलब्धिका लागि सम्माननीय प्रधानमन्त्री, अर्थमन्त्री, शिक्षा मन्त्री तथा सम्पूर्ण सरोकारवाला निकायप्रति आभार व्यक्त गर्दै सुदूरपश्चिमको स्वास्थ्य र शिक्षा क्षेत्रमा यो कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।



