
पोखरा — भ्रष्टाचार, ठगी र अपराधविरुद्ध कडा अभियान चलाइरहेका सुधन गुरुङ ले पोखराको फेवाताल जग्गा प्रकरणमा आफू नै ठगिएको बताएका छन्।
सर्वोच्च अदालतको आदेशअनुसार फेवाताल अतिक्रमण हटाउने अभियान पोखरा महानरपालिकासँगको सहकार्यमा अघि बढिरहेका बेला गुरुङले लिजमा लिएको जग्गासमेत अतिक्रमणभित्र परेको पाइएको हो।

मन्त्री गुरुङको सचिवालयका अनुसार, जग्गा लिँदा धनीले अतिक्रमित भएको तथ्य लुकाई झुक्क्याएर लिजमा दिएको आरोप लगाइएको छ। सोही प्रकरणमा गुरुङसहित तीन जना साझेदारले अब कानुनी उपचार खोज्ने तयारी गरेका छन्।
करिब ८–१० वर्षअघि पोखराको फेवाताल किनारमा साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालन गर्ने योजना अघि बढाइएको थियो। गुरुङका अनुसार, जग्गा भाडामा लिनुअघि धनीले उक्त जग्गा ६५ मिटर मापदण्डभित्र नपर्ने भन्दै विश्वास दिलाएका थिए र लालपुर्जामा समेत सुरक्षित देखाइएको थियो। तर पछि महानगरबाट बुझ्दा सो जग्गा मापदण्डभित्र पर्ने तथ्य खुलेको उनले बताए।
आफूहरू ठगिएको थाहा पाएपछि तुरुन्तै निर्माण कार्य र लगानी रोकेको गुरुङको भनाइ छ। उनले भने, “हामीलाई झुक्क्याएर जग्गा भाडामा दिइएको थाहा पाएलगत्तै नैतिकताका आधारमा सबै काम रोकेका थियौँ। हाम्रो सपना र लगानीमाथि खेलबाड भएको छ, जुन स्वीकार्य छैन।”
मन्त्री गुरुङले यस प्रकरणलाई अन्याय र ठगीको संज्ञा दिँदै अब कडाभन्दा कडा कानुनी प्रक्रियामा जाने स्पष्ट पारेका छन्।



