कर्णाली । मुगु जिल्लाको दुर्गम रोबा गाउँमा अस्थायी प्रहरी चौकी स्थापना गर्ने निर्णय स्वीकृत भएको छ। यससँगै सो क्षेत्रका करिब २५ हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

मुगु ‘क’ वर्गको दुर्गम जिल्ला मानिन्छ। त्यसमाथि जिल्लाकै सबैभन्दा बढी जनसंख्या भएको रोबा गाउँमा हालसम्म प्रहरी चौकी नहुनु स्थानीयका लागि ठूलो चुनौतीको विषय रहँदै आएको थियो। प्रहरी सेवा लिनका लागि स्थानीयले करिब एक दिनसम्म पैदल तथा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो।

अब चौकी स्थापना भएसँगै स्थानीयस्तरमै सहज रूपमा सुरक्षा सेवा उपलब्ध हुने भएको छ। यसले नागरिकको सुरक्षामा मात्र नभई राज्यप्रतिको विश्वास र पहुँचमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

चौकी स्थापनाका लागि जिल्ला सुरक्षा समितिमार्फत आवश्यक प्रक्रिया अघि बढाइएको थियो। यसका साथै नेपाल प्रहरी मुख्यालयसम्म निरन्तर समन्वय र पहल गरिएको बताइएको छ।

यस कार्यमा सहयोग पुर्‍याउने नेपाल सरकारका गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक, सहसचिव, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत सम्बन्धित सबै पक्षप्रति आभार व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय