
काठमाडौं — नवनियुक्त कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै आफ्नो कार्यभार सम्हालेकी छन्।
राष्ट्रपति कार्यालयमा शपथ ग्रहण सम्पन्न गरेपछि मन्त्री चौधरी सिंहदरबार पुगेर पहिलोपटक कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन्। त्यसपछि उनी वन तथा वातावरण मन्त्रालयतर्फ प्रस्थान गरेकी छन्।

कृषि मन्त्रालयका सहसचिव जानुका पण्डितका अनुसार मन्त्री चौधरीले प्रारम्भमा कृषि मन्त्रालयमै पदभार सम्हालेकी हुन्। “उहाँले पहिले कृषि मन्त्रालयमा पदभार ग्रहण गर्नुभयो, अहिले हामी वन तथा वातावरण मन्त्रालय जाँदैछौं,” पण्डितले बताइन्।
हालसम्म मन्त्री चौधरीले कुनै औपचारिक निर्णय भने नगरेको पनि सहसचिव पण्डितले जानकारी दिइन्।



