काठमाडौं । जेनजी प्रदर्शनका क्रममा सुरक्षाको जिम्मेवारी सम्हाल्दै उत्कृष्ट कमान्ड गरेको निष्कर्ष निकाल्दै जाँचबुझ आयोगले तीन जना डीएसपीलाई पुरस्कृत गर्न सरकारलाई सिफारिस गरेको छ।

भदौ २३ र २४ मा काठमाडौं उपत्यकामा भएको जेनजी प्रदर्शनका क्रममा भिड नियन्त्रण र सुरक्षात्मक व्यवस्थापनमा उल्लेखनीय भूमिका खेलेको भन्दै डीएसपी नवराज ढुंगाना, मधुकुमार थापा र सुनिलजंग शाहलाई पुरस्कारका लागि सिफारिस गरिएको हो। आयोगका एक पदाधिकारीले उक्त जानकारी दिँदै प्रदर्शनका बेला उनीहरूले देखाएको नेतृत्व र संयमता प्रशंसनीय रहेको बताए।

आयोगका अनुसार प्रहरी वृत्त थिमिमा कार्यरत डीएसपी ढुंगानाले प्रदर्शनकारीले आक्रमण सुरु गरेपछि भदौ २४ मा दिनभर जवाफी कारवाही गर्दै कार्यालयको सुरक्षा सुनिश्चित गरेका थिए। त्यस दिन साँझ मात्रै उनले कार्यालयका हतियार, गोलीगठ्ठा र सवारी साधन सुरक्षित राख्दै प्रहरी प्रभाग बालकोटतर्फ सारिएको थियो।

त्यस्तै, डीएसपी सुनिलजंग शाहले पटक–पटक आक्रमणको प्रयास हुँदा पनि प्रहरी वृत्त मालीगाउँको अस्थायी कार्यालय, हतियार र सवारी साधन सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेलेको आयोगको निष्कर्ष छ। शाह हाल मालीगाउँबाट सरुवा भएर उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा कार्यरत छन्।

प्रहरी वृत्त कालीमाटीका इन्चार्ज डीएसपी मधुकुमार थापाले पनि भदौ २४ मा प्रदर्शनकारीको आक्रमणबाट कार्यालय जोगाउन सक्रिय भूमिका खेलेका थिए। कालीमाटी वृत्तमा चारैतर्फबाट आक्रमण भएपछि उनले आफ्नो टोली, हतियार र गोलीगठ्ठा सुरक्षित राख्दै भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए।

२०८१ भदौ १० मा उद्घाटन गरिएको काठमाडौं प्रहरी परिसरको नयाँ भवनमा आन्दोलनकारीले आक्रमण गर्ने प्रयास गरेपछि थापा नेतृत्वको टोलीले जवाफी कारवाही गर्दै भवन सुरक्षित राखेको आयोगले उल्लेख गरेको छ। काठमाडौं प्रहरीको महत्वपूर्ण सम्पत्ति जोगाउन उनले खेलेको भूमिकाको व्यापक प्रशंसा भएको बताइएको छ।

जेनजी प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फागुन २४ मा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो। सरकारले उक्त प्रतिवेदन सोमबार सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय