
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवन तथा झै–झगडा नियन्त्रण गर्न पुगेको प्रहरी टोलीमाथि आक्रमण भएको छ । आक्रमणमा एक प्रहरी अधिकारी घाइते भएका छन् भने आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागेर एक युवक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी पुष्कर बोगटीका अनुसार घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१२ रमनटारका २४ वर्षीय सन्जय जिम्बा र सोही स्थानका ३५ वर्षीय अजय थिङ रहेका छन्।

प्रवक्ता बोगटीका अनुसार बुधबार राति करिब ८:५० बजे उक्त स्थानमा लागुऔषध सेवन तथा झै–झगडा भइरहेको सूचना पाएपछि पदमपोखरी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक (असई) दिलबहादुर तामाङको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
प्रहरी टोलीले घटनास्थलमा पुगेर सोधपुछ गर्ने क्रममा असई तामाङमाथि अचानक बियरको बोतल, खुकुरी र बन्चरो प्रहार गरिएको थियो। आक्रमणबाट असई तामाङको दुबै हातमा चोट लागी उनी मध्यम घाइते भएको प्रहरीले जनाएको छ।
आक्रमणपछि आत्मरक्षाका लागि असई तामाङले आफूसँग रहेको पेस्तोलबाट एक राउन्ड गोली चलाउँदा हेटौँडा उपमहानगरपालिका–१२ हात्तिगौडाका १९ वर्षीय सनिस तितुङको पेटको दाहिने भागमा गोली लागेको प्रहरीले जनाएको छ।
घटनामा घाइते भएका असई तामाङ र तितुङलाई उपचारका लागि हेटौँडास्थित सीएमसी चुरेहिल अस्पतालमा भर्ना गरिएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट डीएसपी पुष्कर बोगटीको कमाण्डमा थप प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका दुई जना र गोली लागेका तितुङ यसअघि लागुऔषध, ज्यान मार्ने उद्योग तथा चोरीसम्बन्धी विभिन्न आपराधिक घटनामा समेत संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बोगटीले जानकारी दिएका छन्।



