
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न देशभर कडा सुरक्षा व्यवस्था मिलाइएको प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की बताएका छन्।
निर्वाचन सुरक्षा व्यवस्थापनबारे जानकारी दिँदै उनले चुनाव बिथोल्ने वा उच्छृङ्खल गतिविधि गर्ने जो–कोहीमाथि आवश्यक परे कडा रूपमा बल प्रयोग गरिने चेतावनी दिए।

उनका अनुसार गृह मन्त्रालयको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग सम्मिलित एकीकृत सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइएको छ। चारवटै सुरक्षा निकायले आ–आफ्नो तहबाट सूचना संकलन, विश्लेषण र सम्भावित चुनौतीहरूको मूल्यांकन गर्दै संयुक्त रूपमा काम गरिरहेका छन्। देशभरका सबै मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन भइसकेको उनले जानकारी दिए।
हिमाली तथा उच्च पहाडी जिल्लाहरूको सुरक्षा र कर्मचारी व्यवस्थापनका विषयमा बोल्दै आईजीपी कार्कीले मौसम पूर्वानुमान महाशाखासँग समन्वय भइरहेको स्पष्ट पारे। तत्काल ठूलो हिमपातको सम्भावना नदेखिए पनि अत्यधिक चिसो हुने क्षेत्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्य तथा बन्दोबस्तीमा विशेष ध्यान दिइएको उनले बताए। दुर्गम र लामो दूरी पैदल हिँड्नुपर्ने स्थानमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पुर्याउन हेलिकप्टरको समेत व्यवस्था मिलाइएको छ।
मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दल, उम्मेदवार र सरोकारवालालाई उनले आग्रह गरे। सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउने वा आचारसंहिता विपरीतका गतिविधि गर्नेलाई तत्काल कानुनी दायरामा ल्याइने चेतावनी दिँदै उनले यस्ता गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायले सूक्ष्म निगरानी गरिरहेको बताए।
निर्वाचनको दिन सुरक्षा व्यवस्था अझ कडा पारिने उनले स्पष्ट गरे। मतदान केन्द्रमा धम्की दिने, डरत्रास देखाउने वा बुथ कब्जा गर्ने प्रयास भएमा खटिएका सुरक्षाकर्मीलाई कानुनी रूपमा बल प्रयोग गर्ने अधिकार दिइएको छ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लास्तरको समग्र सुरक्षा व्यवस्थापन हुने र मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी रहने उनले जानकारी दिए। परिस्थिति जटिल बनेमा तत्काल सशस्त्र प्रहरी र नेपाली सेना परिचालन हुने गरी तयारी अवस्थामा राखिएको छ। निर्वाचनलाई अशान्त बनाएर बुथ रद्द गराउने नियत राख्ने समूहलाई निस्तेज पार्न सुरक्षा संयन्त्र पूर्ण रूपमा सजग रहेको उनले बताए।
अन्त्यमा, आईजीपी कार्कीले आम मतदातालाई कुनै डर, त्रास वा दबाबको प्रवाह नगरी निर्धक्क रूपमा मतदान प्रक्रियामा सहभागी हुन अपिल गरे। घरबाट मतदान केन्द्रसम्म पुग्ने र मतदान गरेर सुरक्षित रूपमा फर्किने वातावरण सुनिश्चित गरिएको भन्दै उनले आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न सबै नागरिकलाई आग्रह गरेका छन्।



