गुल्मी। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा गुल्मी क्षेत्र नम्बर–२ पुनः राष्ट्रिय चासोको केन्द्रमा पुगेको छ। गाउँ–गाउँ र टोल–टोलमा भइरहेको भेटघाट, छलफल र घरदैलो अभियानले यसपटकको प्रतिस्पर्धा सामान्य नभई राजनीतिक धार परिवर्तनको संकेत बोकेको देखिन्छ।

गुल्मीका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर–२ विशेष चासोमा पर्नुको प्रमुख कारण यहाँ देखिएको बहुआयामिक र रोचक प्रतिस्पर्धा हो। एकातिर लामो समयदेखि प्रभाव कायम राख्दै आएका एमालेका गोकर्ण विस्ट छन् भने अर्कोतर्फ वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाउँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अधिवक्ता गोविन्द पन्थी मैदानमा छन्। साथै नेपाली कांग्रेसका भुवन प्रसाद श्रेष्ठ नेकपाबाट  श्रीराम महत पनि प्रतिस्पर्धामा छन्। यद्यपि चुनावी माहोलमा मुख्यतः विस्ट र पन्थीबीचको प्रत्यक्ष प्रतिस्पर्धाले बढी ध्यान तानेको छ, र पन्थीले पुराना शक्तिहरूलाई एकसाथ चुनौती दिइरहेका छन्।

विगत करिब १५ वर्षदेखि निरन्तर निर्वाचित हुँदै आएका गोकर्ण विस्टको राजनीतिक यात्रा अनुभव, संगठनात्मक मजबुती र स्थापित प्रभावको प्रतीकका रूपमा हेरिन्छ। दलगत संरचना, दीर्घ सम्बन्ध र क्षेत्रीय पकडले उनलाई बलियो उम्मेदवार बनाएको छ। तर लामो समय सत्ताको वरिपरि रहँदा पनि विकासको गति अपेक्षाअनुसार नदेखिएको, रोजगारी सिर्जनामा उल्लेख्य प्रगति नहुनु र पूर्वाधार विस्तार सुस्त देखिनुजस्ता विषयमा मतदाताले प्रश्न उठाइरहेका छन्। “पटक–पटक अवसर पाउँदा पनि परिणाम किन देखिएन?” भन्ने जिज्ञासा यसपटक खुला रूपमा अभिव्यक्त भइरहेको छ।

वैकल्पिक नेतृत्वको उदय

यही पृष्ठभूमिमा गोविन्द पन्थीको प्रवेशले निर्वाचनलाई नयाँ आयाम दिएको छ। पूर्व सुरक्षा अधिकारीका रूपमा विभिन्न जिल्लामा जिम्मेवारी सम्हालेका उनले शान्ति–सुरक्षा व्यवस्थापन, सामुदायिक प्रहरी साझेदारी र अपराध नियन्त्रणमा अनुभव हासिल गरेका छन्। उनका समर्थकहरूको विश्वास छ कि प्रशासनिक दक्षता, अनुशासन र परिणाममुखी कार्यशैली राजनीतिमा पनि प्रभावकारी रूपमा प्रयोग हुन सक्छ।

पन्थीको अभियान प्रत्यक्ष संवादमा केन्द्रित देखिन्छ। विकास, पारदर्शिता, सुशासन र जवाफदेहितालाई प्राथमिक एजेन्डा बनाउँदै उनी मतदातासँग निरन्तर सम्पर्कमा छन्। यही सक्रियताले गुल्मी–२ मा उनको उपस्थिति दिनप्रतिदिन उल्लेखनीय बन्दै गएको विश्लेषकहरू बताउँछन्।

मतदाताको मनोविज्ञान : थकान र नयाँ खोज

मतदातासँग गरिएको संवादमा परम्परागत राजनीतिक शक्ति र दोहोरिँदै आएका अनुहारप्रति थकान र असन्तुष्टि झल्किन्छ। गुल्मी तम्घासका ५६ वर्षीय महेन्द्र पाण्डे भन्छन्, “अब पार्टीभन्दा पनि एजेन्डा हेरेर नेतृत्व छान्ने समय आएको छ।”

इस्मा–४ की ४१ वर्षीया प्रतिभा विकका अनुसार, “देशलाई अब भिजन, योजना र इमानदार सोच भएका युवाको नेतृत्व चाहिन्छ।” उनीजस्तै धेरै मतदाता सुरक्षित वातावरण, प्रभावकारी सेवा प्रवाह र गरिबमुखी नीतिको अपेक्षामा छन्।

धेरै मतदातामा “अब नयाँलाई जिताउनुपर्छ” भन्ने भावना बलियो बन्दै गएको देखिन्छ। परम्परागत अभ्यासप्रति बढ्दो असन्तुष्टि परिवर्तनको पक्षमा झुकेको संकेतका रूपमा व्याख्या गर्न सकिन्छ।

मुद्दा केन्द्रित प्रतिस्पर्धाको आवश्यकता

हेभीवेट उम्मेदवारहरूको भिडन्तमा प्रायः व्यक्ति केन्द्रमा पुग्ने र जनताका मुद्दा ओझेलमा पर्ने जोखिम हुन्छ। यसपटक गुल्मी–२ मा विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासनका स्पष्ट तथा मापनयोग्य योजना प्रस्तुत हुनु आवश्यक देखिन्छ।

नयाँ शक्तिले परिवर्तनको एजेन्डा अघि सारे पनि त्यसको व्यवहारिक कार्यान्वयन प्रमाणित गर्नुपर्ने चुनौती छ। अर्कोतर्फ पुराना दलले विगतका कमजोरी सच्याएर विश्वसनीयता पुनःस्थापित गर्ने अवसरका रूपमा यो निर्वाचनलाई लिनुपर्ने दबाबमा छन्।

सोच र शैलीबीचको बहस

गोविन्द पन्थीले आफू भाषणभन्दा काम, आश्वासनभन्दा उपलब्धि र नाराभन्दा नतिजामा विश्वास गर्ने नेतृत्वका रूपमा प्रस्तुत गरेका छन्। यसपटकको प्रतिस्पर्धा केवल उम्मेदवारबीचको अंकगणितीय भिडन्त मात्र नभई निरन्तरता र परिवर्तनबीचको बहसजस्तै बनेको छ।

अन्तिम फैसला मतदाताको हातमा

निर्वाचनसम्म अब ११ दिन मात्र बाँकी छन्। अन्तिम निर्णय मतदाताकै हातमा छ। स्पष्ट रूपमा भन्न सकिन्छ—गुल्मी–२ मा यसपटक खस्ने मत केवल प्रतिनिधि चयनका लागि मात्र होइन, आगामी राजनीतिक दिशाको संकेतका रूपमा पनि व्याख्या हुनेछ।

यदि प्रतिस्पर्धा मुद्दा केन्द्रित, शान्तिपूर्ण र लोकतान्त्रिक संस्कारमा आधारित रह्यो भने जित जसको भए पनि वास्तविक विजय जनताको हुनेछ।

गोविन्द पन्थीको घरदैलो कार्यक्रमको फोटो फिचर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय