
हेटौँडा । चार पटकको हारपछि पनि राजनीतिक मैदान नछोड्ने अठोटसहित महालक्ष्मी उपाध्याय ‘डिना’ फेरि एकपटक मतदाताको घरदैलोमा पुगेकी छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका रूपमा मकवानपुर–१ बाट उनी पाँचौँपटक प्रतिस्पर्धामा उत्रिएकी हुन्।

६१ वर्षीया डिनाले ०४८, ०५१, ०७४ र ०७९ का निर्वाचनमा पराजय भोगे पनि सक्रिय राजनीति छाडेकी छैनन्। यसपटक उनी अनुभव, संगठन र आफ्नै राजनीतिक विरासतको भरोसामा मत मागिरहेकी छन्।
राजनीतिक संस्कारमै हुर्किएको जीवन
०२१ सालमा चितवनमा जन्मिएकी डिना राजनीतिक परिवेशमै हुर्किइन्। उनका हजुरबुवा उदयनाथ अधिकारी प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलनका क्रममा १२ वर्ष जेल परेका थिए। परिवारका बुबा, दाइ, दिदी सबै कांग्रेस राजनीतिमा संलग्न भएपछि डिनाको राजनीतिक यात्राले स्वाभाविक गति लियो।
काठमाडौंको पद्मकन्या क्याम्पसमा अध्ययनका क्रममा उनी नेविसंघमार्फत खुला राजनीतिमा सक्रिय भइन्। ०४२ सालको सत्याग्रह आन्दोलनमा सहभागी हुँदा शैलजा आचार्य सँगै सात महिना जेल जीवन बिताइन्। ०४३ सालमा पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएसँगै उनको नेतृत्व क्षमता स्थापित भयो।
पछि ०४७ देखि २०५७ सम्म नेपाल महिला संघ, मकवानपुरको सभापति भएर काम गरिन्। पार्टी विभाजनपछि नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य र एकीकृत कांग्रेसको चौधौँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भइन्। ०६४ र ०७० को संविधानसभामा समानुपातिक सांसद बनेकी उनी ०६४ मा जलस्रोत राज्यमन्त्रीसमेत बनिन्।
हारका श्रृंखला र निरन्तर प्रयास
प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो आमनिर्वाचन (०४८) मा मकवानपुर–२ बाट उठ्दा उनी विरोध खतिवडा सँग पराजित भइन्। ०५१ र ०७४ मा पनि परिणाम उनको पक्षमा आएन।
०७९ को निर्वाचनमा पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बन्दा पनि उनले अपेक्षित मत समेट्न सकिनन्। त्यसबेला मकवानपुर–१ बाट निर्वाचित दीपकबहादुर सिंह सँग २ हजार ३८७ मतान्तरले पराजित भइन्। यद्यपि, १५ पुरुष उम्मेदवारबीच प्रतिस्पर्धा गर्दै १४ जनालाई पछि पार्नु उनका लागि सान्त्वना बन्यो।
‘यसपटक न्याय हुन्छ’ भन्ने विश्वास
चार पटक हारिसकेकी डिना यसपटक भने परिणाम आफ्नो पक्षमा आउने दाबी गर्छिन्। उनी आफ्नो लामो राजनीतिक संघर्ष, महिला अधिकारका मुद्दामा गरेको निरन्तर आवाज र सामाजिक योगदानलाई मतदातासामु प्रस्तुत गरिरहेकी छन्।
“महिलाको अधिकार र सहभागिताका लागि मैले निरन्तर संघर्ष गरेँ,” डिनाको भनाइ छ, “मकवानपुरवासीले यसपटक न्याय गर्नेछन् भन्ने विश्वास छ।”
उनको रणनीति विशेषगरी महिला मतदातामाथि केन्द्रित देखिन्छ। मकवानपुरका दुई निर्वाचन क्षेत्रमा ४४ जना प्रतिस्पर्धीमध्ये सातजना महिला उम्मेदवार छन्। कांग्रेसले देशभरबाट ११ महिला उम्मेदवार उठाउँदा मकवानपुर–१ मा फेरि डिनामाथि भरोसा गरेको छ।
अब प्रश्न एउटै छ—लगातार चार हारपछि पाँचौँ प्रयासमा डिनाको राजनीतिक धैर्यले विजयको स्वाद चाख्छ कि फेरि प्रतीक्षामै सीमित रहन्छ? यसको जवाफ फागुन २१ को मतपरिणामले दिनेछ।



