
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एड्भान्स एनालेटिक सेल गठन गर्ने तयारी गरेको बताएका छन् । सूचना प्रविधिको दुरुपयोग बढ्दै जाँदा झुटा सामग्री, हेट स्पिच तथा डिजिटल म्यानुपुलेशन फैलिन थालेकाले ती गतिविधिको निगरानी र कानूनी उपचारका लागि उक्त सेल आवश्यक भएको उनको भनाइ छ ।
सोमबार काठमाडौंमा आयोजित ‘अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका’ विषयक एकदिने अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मुलुकमा झुटा तथा गलत समाचारले बढावा पाइरहेकोप्रति चिन्ता व्यक्त गरे ।

उनका अनुसार आजको डिजिटल युगमा मिस–इन्फरमेशन, इरादा फरक भएर गरिने डिस–इन्फरमेशन, हेट स्पिच, एआईको दुरुपयोग तथा डिजिटल म्यानुपुलेशनबाट सिर्जित झुटा सामग्रीहरू समाजका लागि साझा चुनौती बन्दै गएका छन् ।
“कानून कार्यान्वयन नै कानूनी शासनको आधार हो । कट–पेस्ट र कपी–पेस्टको यान्त्रिकताले सृजनशीलतालाई कमजोर बनाउँछ,” उनले भने ।
प्रहरी महानिरीक्षक कार्कीले राष्ट्रिय सुरक्षाको मर्मलाई सञ्चारकर्मीहरूले आफ्नो पेशागत धर्मका रूपमा आत्मसात गर्नुपर्ने आवश्यकता औंल्याउँदै जिम्मेवार र तथ्यमा आधारित पत्रकारिताले समाजलाई सही दिशा दिन महत्वपूर्ण भूमिका खेल्ने बताए ।



