गुल्मी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गुल्मी क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोविन्द पन्थीले घरदैलो कार्यक्रम अन्तर्गत धुर्कोट गाउँपालिका–७ मा पुग्दा स्थानीय मतदाता भावविह्वल भएका छन्। निर्वाचनमा आफूलाई मतदान गर्न अनुरोध गर्दै पन्थी धुर्कोट–७ वाग्ला पुगेका बेला स्थानीयवासीको आँखामा आँसु देखिएको थियो।

यसअघि निर्वाचित जनप्रतिनिधिहरूले लामो समयसम्म पनि आफ्ना समस्या सम्बोधन नगरेको पीडा व्यक्त गर्दै पन्थीको आगमनले अब समाधानको आशा पलाएको भन्दै एक मतदाताले भावुक प्रतिक्रिया दिए।

‘यहाँ शिक्षा र स्वास्थ्य क्षेत्रका समस्या गम्भीर छन्। बाटोको अभाव छ भने जंगली जनावरको आतंक अर्को ठूलो समस्या हो। हामीले यसअघिका प्रतिनिधिहरूलाई पटक–पटक यी कुरा राख्यौं, तर सुनुवाइ भएन,’ उनले भने, ‘फेसबुक, टिकटक र युट्युबमा तपाईंका गतिविधि हेरेका थियौं। तपाईं हाम्रो उम्मेदवार बन्नु भएको खबरले खुसी बनाएको थियो, आज प्रत्यक्ष भेट्दा खुसीले आँखा रसाए।’

उनी मात्र नभई कार्यक्रममा उपस्थित अन्य सर्वसाधारण पनि आफूहरूले खोजेजस्तो उम्मेदवार भेट्दा भावुक बनेका थिए। अरूले गर्न नसकेको काम गोविन्द पन्थीले अवश्य गर्ने र गुल्मी–२ लाई समृद्ध बनाउनेमा आफूहरू ढुक्क रहेको उनीहरूको भनाइ छ।

मतदातासँग संवाद गर्दै उम्मेदवार पन्थीले पनि उक्त क्षेत्रका समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै समाधानका लागि दृढ प्रतिबद्धता जनाए।

‘तपाईंहरूको समस्या अहिलेसम्म पनि सुनिएन भन्ने सुन्दा मलाई अत्यन्तै दुःख लाग्यो। अब त्यस्तो हुन दिने छैन। यदि म निर्वाचित भएँ भने यहाँका सम्पूर्ण समस्या समाधानका लागि इमानदार प्रयास गर्नेछु। तपाईंहरूले मप्रति गर्नुभएको विश्वास कहिल्यै टुट्न दिनेछैन,’ पन्थीले प्रतिबद्धता व्यक्त गरे।

पछिल्लो समय देशभर राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको आकर्षण बढ्दै जाँदा गुल्मीमा पनि चुनावी माहोल तातिँदै गएको देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय