
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी सम्हालेसँगै एसएसपी बसन्त रजौरेले अवैध क्रियाकलापविरुद्ध कडा कदम चालेका छन्। उनको नेतृत्वमा विमानस्थल सुरक्षालाई थप चुस्त बनाइएपछि अवैध गतिविधिमा संलग्न व्यक्तिहरू धमाधम पक्राउ पर्न थालेका छन्।
विमानस्थल सुरक्षा कार्यालयले छुट्टाछुट्टै दुई घटनामा अवैध सुनसहित एक भारतीय नागरिक र विमानस्थलमै कार्यरत एक सरसफाइ कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

एसएसपी रजौरेका अनुसार बुधबार बिहान करिब १० बजे दुबईबाट फ्लाई दुबईको उडानमार्फत काठमाडौँ आएका ४९ वर्षीय भारतीय नागरिक अबु बरकत कुदरते खुदा काजीलाई शंकाका आधारमा नियन्त्रणमा लिइएको थियो। चेकजाँचका क्रममा उनले शरीरभित्र सुन लुकाएको आशंका भएपछि थप परीक्षण गरिएको थियो।
जाँचका क्रममा उनको शरीरबाट करिब १०० ग्राम तौलको पहेँलो रङको बेलनाकार अर्धठोस धातु (सुन) बरामद गरिएको हो। भन्सार छली गरी अवैध रूपमा सुन भित्र्याउन खोजेको आरोपमा उनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।
यस्तै, विमानस्थलको आन्तरिक सुरक्षा व्यवस्था छलेर सुन बाहिर लैजान खोज्ने सुनगाभा सगरमाथा सर्भिस प्रालिमा कार्यरत ४० वर्षीय सरसफाइ कर्मचारी डिक बहादुर राउत पनि पक्राउ परेका छन्। मंगलबार बिहान विमानस्थलभित्रको डस्टबिनबाट फोहोर सङ्कलन गरी बाहिर निस्कने क्रममा प्रहरी चेकिङ पोस्टमा गरिएको स्क्रिनिङका क्रममा उनको फोहोरको पोका भित्र लुकाइएको ४.४ ग्राम तौलको सुनको सिक्रीका टुक्रा फेला परेको थियो।
बरामद सुनसहित राउतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
एसएसपी बसन्त रजौरेको सक्रियता र कडाइसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध सुन तस्करी नियन्त्रणतर्फ सुरक्षाको प्रभावकारी उपस्थिति देखिन थालेको छ।



