
सप्तरी — सप्तरीको राजविराज भन्सार कार्यालयस्थित प्रहरी बिटमा रकम लिँदै गरेको दृश्य खिच्दा नयाँ पत्रिकाका पत्रकार सौरभ यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतबार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१ मा रहेको प्रहरी बिटमा प्रहरी कर्मचारीले महिला व्यापारीसँग पैसा लिँदै गरेको फोटो र भिडियो खिच्न लागेका सौरभ यादवलाई हवल्दार डी. यादवले नियन्त्रणमा लिएका हुन्। प्रहरीले उनलाई करिब १५ मिनेट नियन्त्रणमा राखेर पछि छाडेको जानकारी प्राप्त भएको छ।

नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष रामनारायण विश्वासले यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामा गम्भीर प्रश्न उठाएको बताउँदै, घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।



