
बारा। देशभर “अब परिवर्तन चाहिन्छ” भन्ने आवाज थप सशक्त बन्दै गएको छ। यो परिवर्तन केवल अनुहार परिवर्तनमा सीमित नभई सोच, संस्कार र प्रणालीमै सुधार आवश्यक रहेको धारणा आम नागरिकले व्यक्त गर्न थालेका छन्। पुराना आश्वासन, खोक्रा भाषण र स्वार्थकेन्द्रित राजनीतिले देशलाई अघि बढाउन नसक्ने निष्कर्षमा जनता पुग्दै गएको देखिन्छ।
यही परिवर्तनको एजेन्डालाई अघि सार्दै पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल राजनीतिमा सक्रिय रूपमा होमिनुभएको छ। बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका खनालले बाँसुरी चिन्हमा मतदान गर्न आह्वान गर्दै समुन्नत नेपालको खाका प्रस्तुत गर्नुभएको छ।

खनालले जीवनभर वर्दीमा रहेर देशको सेवा गरेको उल्लेख गर्दै कानून, अनुशासन र इमानदारी आफ्नो जीवनको मूल आधार भएको बताउनुभयो। उहाँले राजनीति प्रवेश पद, प्रतिष्ठा वा सुविधाका लागि नभई बिग्रँदै गएको राजनीतिक संस्कार सुधार्नका लागि भएको स्पष्ट पार्नुभयो।
“आज धेरैजसोले ‘नयाँ चाहियो’ भन्छन्, तर नयाँपन उमेर वा नाममा होइन, सोच, चरित्र र काम गर्ने शैलीमा हुन्छ,” नेता खनालले भन्नुभयो, “गलत अभ्याससँग सम्झौता नगर्ने साहस नै वास्तविक नयाँपन हो, र त्यो साहस नै मेरो सम्पत्ति हो।”
‘बाँसुरी चिन्हमा मत — समुन्नत नेपालको सुरुवात’ भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएका खनालप्रति बारा–४ मा जनसमर्थन बढ्दै गएको देखिन्छ। स्थानीय स्तरमा भइरहेका भेटघाट, संवाद र जनसहभागिताले उनको अभियानले गति लिँदै गएको संकेत गरेको छ।
राजनीतिमा नयाँ सोच र इमानदार नेतृत्वको खोजी भइरहेका बेला खनालको उम्मेदवारीलाई परिवर्तनको प्रतीकका रूपमा हेर्नेहरूको संख्या बढ्दो छ।



