
ललितपुर — करिब १७ महिना अघि कर्तव्यपालनकै क्रममा प्रहरी सहायक हवल्दार सुशीला श्रेष्ठ ललितपुरमा गम्भीर सवारी दुर्घटनामा परेकी थिइन्। मादक पदार्थ सेवन गरी तीव्र गतिमा मोटरसाइकल चलाइरहेका कविन कार्कीको ठक्करबाट उनी गम्भीर घाइते भएकी थिइन्।
दुर्घटनामा श्रेष्ठको टाउको, हात र खुट्टामा गहिरो चोट लागेको थियो। अवस्था गम्भीर भएपछि उनलाई तीन दिन भेन्टिलेटरमा राखिएको थियो भने करिब एक महिना मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो।

उपचार खर्च करिब १३ लाख रुपैयाँ पुगे पनि दोषी पक्षबाट हालसम्म जम्मा ३ लाख रुपैयाँ मात्र प्राप्त भएको पीडितको गुनासो छ। बाँकी रकम नतिरेपछि अस्पतालले कागजी प्रक्रिया पूरा गराएर डिस्चार्ज गरेको र हालसमेत उपचार खर्च तिर्न दबाब आइरहेको श्रेष्ठ बताउँछिन्।
दुर्घटनामा संलग्न चालक कविन कार्की करिब ९ महिना थुनामा बसेपछि धरौटीमा छुटिसकेका छन्। दुर्घटनाबाट जीवनभर असर पर्ने चोट बोकेकी श्रेष्ठ हाल पनि पूर्ण उपचारका लागि संघर्षरत अवस्थामा छिन्।
मादक पदार्थ सेवन गरी लापरवाहीपूर्वक सवारी चलाउने व्यक्तिले सामान्य धरौटीमा छुट पाउनु, पीडितले उपचार खर्च धान्न नसक्नु तथा यति गम्भीर घटनामासमेत राज्य संयन्त्रको अपेक्षित सहयोग नदेखिनुले न्याय प्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ।
कर्तव्यमा रहँदा घाइते हुनु पीडितका लागि नै अभिशापजस्तै बन्ने यथार्थ यस घटनाले उजागर गरेको सरोकारवालाहरूको भनाइ छ।
(पत्रकार विरेन्द्र जैरूको फेसबुक स्टाटसमा आधारित न्युज साभार)



