
काठमाडौँ — नेपाल प्रहरीले लामो समयदेखि अन्य सुरक्षा निकायको तुलनामा कम पाएको राशन स्केलमा ऐतिहासिक वृद्धि पाउने भएको छ। प्रहरी महानिरीक्षक (आईपीजी) दान बहादुर कार्कीको निरन्तर पहल र पदबहालीको समयमा व्यक्त प्रतिबद्धताको परिणामस्वरूप सरकारले माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकमा नेपाल प्रहरीको राशन स्केल बढाउने निर्णय गरेको हो।
यस निर्णयसँगै, फागुन १ गतेदेखि नेपाल प्रहरीका कर्मचारीहरूले अन्य सुरक्षा निकाय जस्तै समान राशन सुविधा पाउनेछन्। यसअघि नेपाल प्रहरीको राशन स्केल अन्य सुरक्षा निकायभन्दा कम हुने भएकाले कर्मचारीमा असमानता र मनोबलमा असर परेको थियो।

आईजिपी कार्कीले भने, “समान राशन सुविधा लागू हुनु हाम्रो संगठनको पेशागत विकास र सुरक्षा निकायबीचको समानतालाई सुनिश्चित गर्ने महत्वपूर्ण कदम हो। यसले प्रहरी कर्मचारीको मनोबल बढाउनेछ र उनीहरूलाई राष्ट्रको सेवा गर्ने प्रेरणा थप्नेछ।”
विशेषज्ञहरूका अनुसार, यस कदमले केवल कर्मचारीको भौतिक सुविधा मात्र सुधार्ने छैन, बरु संगठनभित्रको आत्मविश्वास, प्रतिबद्धता र पेशागत दक्षतालाई समेत सुदृढ पार्नेछ। लामो समयदेखि असमानताले सिर्जना गरेको असन्तुष्टिलाई अन्त्य गर्दै, यो निर्णयले नेपाल प्रहरीलाई अन्य सुरक्षा निकायसँग बराबरीको स्तरमा पुर्याउने विश्वास व्यक्त गरिएको छ।
संगठनका वरिष्ठ अधिकारीहरूले पनि यसलाई ऐतिहासिक सुधारको रूपमा मूल्याङ्कन गर्दै, प्रहरी कर्मचारीहरूको हकहितमा सरकारको सकारात्मक दृष्टिकोणको प्रशंसा गरेका छन्।



