
दोलखा । आगामी निर्वाचनलाई मध्यनजर गर्दै दोलखामा सुरक्षा व्यवस्था कडा बनाउने तयारी गरिएको छ। यसअघिका निर्वाचनमा बारम्बार विवाद र लफडा भएका कारण यसपटक सुरक्षा व्यवस्थामा विशेष ध्यान दिइने भएको हो।
बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीका प्रमुख एसएसपी प्रभुपसाद ढकालको नेतृत्वमा दोलखामा छुट्टै चुनावी सुरक्षा बेस स्थापना गरिने भएको छ। उक्त बेसले दोलखा जिल्ला मात्र नभई तीन जिल्ला—दोलखा, रामेछाप र सिन्धुली—को सुरक्षा समन्वयको जिम्मेवारी सम्हाल्नेछ।

यो विशेष सुरक्षा टोलीले मुख्यतया दोलखामा ध्यान केन्द्रित गर्दै सुरक्षित मतदान सुनिश्चित गर्ने लक्ष्य राखेको छ। टोलीले आवश्यकता अनुसार रामेछाप र सिन्धुली जिल्लामा पनि मद्दत प्रदान गर्ने व्यवस्था मिलाइएको छ। अन्य जिल्लामा सामान्य सुरक्षा अवस्थामा थप लफडा वा आपतकालीन स्थिति देखिएमा मात्र टोलीले हस्तक्षेप गर्ने गरी रणनीति तयार गरिएको छ।
एसएसपी ढकालले भनेका छन्, “हामी मतदान प्रक्रियालाई पूर्णरूपले सुरक्षित बनाउने लक्ष्यमा छौँ। दोलखामा रहँदा आवश्यक परे अन्य जिल्लामा सहयोग पुग्ने व्यवस्था मिलाइएको छ।”
यसअघि दोलखामा चुनावका बेला स्थानीय विवाद र मत गणनासम्बन्धी विवादले सुरक्षा चुनौती उत्पन्न गरेको थियो। यसपटक सुरक्षा बेस स्थापना भएपछि मतदान स्थलसम्म प्रहरी उपस्थिति सुनिश्चित हुने र मतदाता तथा उम्मेदवार दुबैलाई सहज वातावरण प्रदान हुने अपेक्षा गरिएको छ।



