
इलाम — फाकफोकथुम गाउँपालिकामा मतदान सुरु हुनुअघि इलाम प्रहरीले मतदान स्थलहरूको सुरक्षा सुनिश्चित गर्न व्यापक तयारी गरेको छ।
आज इलामका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक कुलदीप चन्द र प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले फाकफोकथुम गाउँपालिकाभित्र रहेका विभिन्न मतदान स्थलहरूको अवलोकन तथा अनुगमन गर्नु भएको छ।

एसपी चन्दले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भन्नुभयो, “यो चुनाव पूर्णरूपले सुरक्षापूर्ण बनाउने सबै किसिमका तयारी र प्रयास जारी राख्नेछौँ। निर्वाचन प्रक्रियामा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले प्रहरी सक्रिय छ।”
निर्वाचनका क्रममा मतदातालाई सहज र सुरक्षित वातावरण उपलब्ध गराउन स्थानीय प्रशासन र प्रहरीले समन्वयमा काम गरिरहेको छ। मतदान स्थलको सुरक्षा व्यवस्था, सवारी साधनको प्रबन्ध, मतदाता प्रवेश–निस्कने मार्गको व्यवस्थापन र भीड नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ।
स्थानीय प्रशासनले पनि मतदानको निष्पक्षता र सुरक्षा सुनिश्चित गर्न प्रहरीसँग मिलेर काम गरिरहेको जनाएको छ। यसअघि जिल्लाका विभिन्न स्थानमा सुरक्षा पूर्वाधार र अनुगमन तयारी सकिसकेको छ।



