
गुल्मी — पछिल्लो समय गुल्मी जिल्लामा गोविन्द पन्थीको सार्वजनिक सक्रियता उल्लेख्य रूपमा बढ्दै जाँदा स्थानीय राजनीतिक तथा सामाजिक माहोल क्रमशः तातिँदै गएको छ। जिल्लाका विभिन्न स्थानमा भइरहेका भेटघाट, अन्तरक्रिया, सामुदायिक छलफल तथा सामाजिक कार्यक्रममा उनको निरन्तर उपस्थितिले स्थानीयस्तरमा नयाँ राजनीतिक चर्चा र बहसको सुरुवात भएको स्थानीय बासिन्दाहरू बताउँछन्।
नेपाल प्रहरीका पूर्व सुरक्षा अधिकारी पन्थीले सेवा अवधिमा देशका विभिन्न जिल्लामा जिम्मेवारी सम्हाल्दै शान्ति–सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, तथा सामुदायिक प्रहरी साझेदारीका क्षेत्रमा अनुभव हासिल गरेका थिए। उनका निकटवर्तीहरूका अनुसार, प्रहरी सेवाले उनलाई संगठनात्मक क्षमता, अनुशासन, निर्णयक्षमता र प्रशासनिक समझ दिएको छ, जुन अनुभव अब सार्वजनिक जीवनमा उपयोग गर्न सकिने समर्थकहरूको विश्वास छ।

प्रहरी सेवाको अनुभव र ठूला कामहरू
पन्थीले प्रहरी सेवा रहँदा प्रत्यक्ष देखिने ठूला काण्डहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यसमा भटानी सरणार्थीको फाईल , भिजिट भिजा काण्डमा अनुसन्धान , साथै आपत्कालीन घटनाहरूमा तत्काल निर्णय क्षमता देखाउनु प्रमुख उदाहरण हुन्। उनका सहकर्मीहरूले भनेका अनुसार, यी अनुभवहरूले उनलाई संकट व्यवस्थापन, निर्णय क्षमता र कानुनी प्रक्रियामा गहिरो समझ प्रदान गरेका छन्।
सेवा निवृत्तिपछि पनि पन्थीको योगदान समाजमा सीमित छैन। उनी एक सक्रिय अधिवक्ता हुन् र दैनिक जीवनमा नागरिक सेवा प्रदान गर्दै आएका छन्। विशेषगरी, वैदेशिक रोजगारीमा ठगीमा परेको नागरिकलाई निशुल्क कानुनी सेवा उपलब्ध गराउने, विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्दार गरी नेपाल ल्याउने काममा उनको योगदान उल्लेखनीय छ। यसले उनलाई केवल राजनीतिक व्यक्तित्व नभई सामाजिक जिम्मेवारीमा अग्रणी नागरिकको रूपमा प्रस्तुत गरेको छ।
स्थानीय विकास र नागरिकसँग संवाद
पछिल्लो समय पन्थी स्थानीय विकास, सुशासन र सेवा प्रवाह सुधारका विषयलाई केन्द्रमा राख्दै संवादमा सक्रिय देखिएका छन्। युवावर्ग (जेन्जी) , पूर्वसैनिक तथा पूर्वप्रहरी, कृषक समूह, महिला समूह र वैदेशिक रोजगारीबाट फर्किएका नागरिकसँग उनले प्रत्यक्ष छलफल बढाएका छन्। ती भेटघाटमा उनले स्थानीय पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा र स्वास्थ्य सेवाको पहुँच, साथै स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन्।
गुल्मीका केही वडामा आयोजित अन्तरक्रिया कार्यक्रममा पन्थीको उपस्थितिले परम्परागत राजनीतिक सोचभन्दा फरक खालको बहस सुरु भएको स्थानीयहरूको भनाइ छ। प्रहरी पृष्ठभूमिबाट आएका व्यक्तिले सार्वजनिक राजनीतिमा कस्तो कार्यशैली अपनाउँछन् भन्ने विषयमा जिज्ञासा पनि देखिएको छ। केहीले यसलाई अनुशासन र परिणाममुखी नेतृत्वको सम्भावनाका रूपमा हेरेका छन् भने केहीले नागरिक–केन्द्रित शासन प्रणालीमा प्रहरी पृष्ठभूमिको भूमिका कस्तो हुन सक्छ भन्ने प्रश्न उठाएका छन्।
यद्यपि, अन्य राजनीतिक धारका प्रतिनिधिहरू भने पन्थीको सक्रियतालाई चुनाव नजिकिँदै जाँदा देखिने सामान्य राजनीतिक गतिविधिका रूपमा व्याख्या गर्छन्। उनीहरूको भनाइमा, जनताले अब व्यक्तिको विगत मात्र होइन, वर्तमान योजना, स्पष्ट दृष्टिकोण र व्यवहारिक कार्यक्षमताका आधारमा मूल्याङ्कन गर्ने समय आएको छ।
विश्लेषकको दृष्टिकोण
स्थानीय विश्लेषकहरूका अनुसार, गोविन्द पन्थीको बढ्दो उपस्थितिले गुल्मीको राजनीतिक संवादलाई सक्रिय र विषयगत बनाएको छ। उनका अनुभव, अनुशासन र नागरिकसेवामैत्री दृष्टिकोणले आगामी दिनमा निर्वाचन, जनसम्पर्क अभियान र सार्वजनिक बहसमा उनको प्रभावलाई अझ स्पष्ट बनाउने अपेक्षा गरिएको छ।
गोविन्द पन्थी केवल पूर्व प्रहरी होइन, सामाजिक उत्तरदायित्व र न्याय सेवामा सक्रिय नेतृत्वकर्ताको रूपमा पनि चिनिएका छन्। उनका अनुभव, कानुनी सेवा र सामाजिक प्रतिबद्धताले उनलाई गुल्मीमा राजनीतिक मात्र नभई रास्ट्रिय रूपमा पनि विश्वासिलो पात्र बनाएको छ। आगामी दिनमा उनको गतिविधि र जनसम्पर्कले जिल्ला स्तरको राजनीतिक र सामाजिक वातावरणमा कस्तो प्रभाव पार्छ भन्ने कुरामा सबैको नजर रहिरहने देखिन्छ।



