काठमाडौं । आउँदो निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले अत्यावश्यक बाहेकका सबै प्रकारका बिदा बन्द गरेको छ। चुनावी समयमा सुरक्षा व्यवस्थापन र प्रहरी परिचालनलाई प्रभावकारी बनाउन यो निर्णय गरिएको हो।

प्रहरी प्रधान कार्यालयले गत साता परिपत्र जारी गर्दै विशेष परिस्थितिबाहेक प्रहरी कर्मचारीलाई बिदा नदिन निर्देशन दिएको थियो। यही निर्देशनअनुसार २१ फागुनमा तय भएको निर्वाचनका लागि नेपाल प्रहरीले रणनीतिक रूपमा तयारी र परिचालन प्रक्रिया अघि बढाएको छ।

उम्मेदवारहरूले चुनावी प्रचार–प्रसार तीव्र बनाइसकेका कारण सुरक्षा चुनौती र प्रहरीको कार्यचापसमेत बढेको प्रहरी स्रोत बताउँछ। यद्यपि निर्वाचनमा खटिने प्रहरी भने २५ माघदेखि मात्रै फिल्डमा परिचालन हुने कार्यतालिका रहेको छ।

निर्वाचन प्रहरी भर्ना प्रक्रियामै समस्या देखिएपछि परिचालनमा ढिलाइ भएको जनाइएको छ। कतिपय जिल्लामा आवश्यक संख्यामा आवेदन नपरेपछि व्यवस्थापनमा चुनौती आएको हो।

यसैबीच, निर्वाचनमा खटिने प्रहरीका लागि भत्ता र बिमा सम्बन्धी विषय भने अझै स्पष्ट हुन सकेको छैन। भत्ताका लागि बजेट आए पनि कति दिनको भत्ता उपलब्ध गराइने भन्ने विषयमा अन्योल रहेको प्रहरी स्रोतको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय