काठमाडौं । भक्तपुरस्थित बाल सुधार गृहमा बिहीबार राति भएको झडपमा १३ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको छ भने अन्यको अवस्था सामान्य रहेको जनाइएको छ।

झडपपछि सुधार गृहभित्र रहेका १६२ जनालाई अन्य स्थानमा स्थानान्तरण गरी सुधार गृह अस्थायी रूपमा खाली गराइएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा डीएसपी प्रकाश जगेबुका अनुसार सुधार गृहभित्र एक पक्षले अर्को पक्षलाई हेप्ने, कुटपिट गर्ने क्रम बढेपछि झडपको अवस्था सिर्जना भएको हो। झडपका क्रममा आगजनीसमेत भएको प्रहरीले जनाएको छ।

मध्यराति झडप भएको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। तर, स्थिति नियन्त्रणमा लिन सुधार गृहभित्र प्रवेश गर्न खोज्दा त्यहाँ रहेका बालकहरूले ढुंगामुढा गरेपछि प्रहरी तत्काल प्रवेश गर्न नसकेको बताइएको छ।

यो पहिलो घटना होइन

बाल सुधार गृहमा यसअघि पनि यस्तै प्रकृतिका झडप, अव्यवस्था र सुरक्षा कमजोरीका घटनाहरू सार्वजनिक हुँदै आएका छन्। पटक–पटक समस्या दोहोरिँदा पनि दीर्घकालीन समाधान नआउनु प्रशासनिक लापरवाहीको संकेत हो कि भन्ने प्रश्न उठ्न थालेको छ।

किन पटक–पटक यस्ता घटना ?

बाल सुधार गृह सुधारका नाममा सञ्चालन भइरहे पनि भित्रको व्यवस्थापन, मनोसामाजिक परामर्श, निगरानी र सुरक्षा संयन्त्र प्रभावकारी हुन नसकेको सरोकारवालाहरूको गुनासो छ। बालकहरूबीचको द्वन्द्व समयमै समाधान गर्न नसक्नु, क्षमता भन्दा बढी राखिनु र कमजोर व्यवस्थापन नै यस्ता घटनाको मुख्य कारण हो कि भन्ने प्रश्न उब्जिएको छ।

अब पनि यदि प्रशासनले गम्भीर रूपमा सुधार गृहको व्यवस्थापन, सुरक्षा र पुनःस्थापनामुखी कार्यक्रमतर्फ ध्यान नदिने हो भने यस्ता घटना दोहोरिरहने निश्चित देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय