बारा । सशस्त्र प्रहरी बल, नेपालको २५औँ स्थापना दिवस २०८२ को अवसरमा बारा जिल्लाको सीमावर्ती क्षेत्रमा क्विक इम्प्याक्ट प्रोजेक्ट (QIP) अन्तर्गत निर्माण गरिएका सार्वजनिक पूर्वाधारहरूको उद्घाटन गरिएको छ।

माघ ५ गते दिउँसो सिम्रौनगढ नगरपालिका–९, बसवरिया स्थित झरोखर सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नं. १२ गण बाराद्वारा निर्माण गरिएको दुई कोठे सार्वजनिक शौचालयको उद्घाटन सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरी प्रसाद कलवारले गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा नगर उप–प्रमुख नजमु शेहर, सशस्त्र प्रहरी बल नं. १२ गण बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुम बहादुर केसी, वडा नं. ६, ७, ८ र ९ का वडा अध्यक्षहरू, स्थानीय जनप्रतिनिधि तथा नागरिकको उपस्थिति रहेको थियो।

यसैगरी, सोही दिन अपराह्न सुवर्ण गाउँपालिका–३, संतगंज सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नं. १२ गणद्वारा निर्माण गरिएको प्रतिक्षालयको उद्घाटन सुवर्ण गाउँपालिकाका प्रमुख राजेश प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सशस्त्र प्रहरीले जनाएको छ।

उक्त कार्यक्रममा गणपति एसपी केसी, वडा नं. ३ का वडा अध्यक्ष रामक्षत्री प्रसाद यादव, बी.ओ.पी. कवहीगोठका सशस्त्र प्रहरी निरीक्षक विश्वराज कार्की लगायत सुरक्षाकर्मी तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो।

एक वर्षे कार्यकाल पूरा गरी सरुवा भएका गणपति एसपी खुम बहादुर केसीको नेतृत्वमा बारा जिल्लामा सुरक्षा, सीमा निगरानी तथा सामुदायिक सहकार्यका क्षेत्रमा उल्लेखनीय कार्य भएको स्थानीयले बताएका छन्। क्विक इम्प्याक्ट प्रोजेक्टमार्फत स्थानीय आवश्यकतामा आधारित पूर्वाधार निर्माणले नागरिक र सुरक्षा निकायबीचको विश्वास थप मजबुत बनेको उनीहरूको भनाइ छ।

सीमावर्ती क्षेत्रका नागरिकको जीवनस्तर सुधार तथा सार्वजनिक सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले निर्माण गरिएका यी संरचनाले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय