
काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई हिरासतबाट छाड्न आदेश दिएको छ।
आइतबार न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै उनलाई तुरुन्त मुक्त गर्न निर्देशन दिएको हो। सर्वोच्च अदालतले शनिबार सरकार र दुर्गा प्रसाईं पक्षबीच भएको वार्ता र सहमतिको आधारमा निर्णय गरेको जनाएको छ।

आदेशमा भनिएको छ, “निवेदन आबद्ध संस्थाका प्रतिनिधि र प्रधानमन्त्रीका सल्लाहकारबीच शनिबार महाअभियान शान्तिपूर्ण सञ्चालन गर्ने सहमति भइसकेको छ। त्यसकारण, निवेदक विरूद्ध अनुसन्धान वा हिरासतमा राख्नुपर्ने औचित्य समाप्त भएको देखिन्छ। यसकारण दुर्गा प्रसाईंविरूद्ध जारी पक्राउ पूर्जी, म्याद थप र अन्य अनुसन्धान सम्बन्धी कारबाही बदर गर्दै तत्काल मुक्त गर्न आदेश जारी गरिएको छ।”
यसअघि बिहीबार न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन र कारण देखाउन आदेश दिइसकेको थियो।



