
काठमाण्डौं— केन्द्रीय सुरक्षा समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विशेष ‘निर्वाचन सेल’ गठन गर्ने निर्णय गरेको छ। गृहमन्त्रीको आह्वानमा बसेको समितिको बैठकले निर्वाचन सुरक्षालाई थप प्रभावकारी र समन्वित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत उक्त सेल गठन गर्न सिफारिस गरेको हो।
बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्था, सम्भावित जोखिम, तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले प्रस्तुत गरेका चुनौतीहरूको समग्र समीक्षा गरिएको गृह मन्त्रालयले जनाएको छ। विगतका निर्वाचनका सिकाइ र अनुभवलाई आधार बनाएर तयार पारिएको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ समेत देशभरका सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयमा कार्यान्वयनका लागि पठाइसकिएको मन्त्रालयले जनाएको छ।

निर्णय अनुसार प्रदेशस्तरमा प्रदेश प्रमुख सचिवको संयोजकत्वमा सबै सुरक्षा निकायका प्रमुखहरू, आन्तरिक मामिला मन्त्रालयका सचिव तथा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित हुने गरी ‘प्रदेश कमाण्ड पोष्ट’ तथा ‘निर्वाचन सेल’ गठन गरिनेछ।
गृह मन्त्रालयका अनुसार प्रमुख सचिवहरूलाई यी संरचनाहरू सक्रिय गरी निर्वाचन सुरक्षा व्यवस्थापनमा प्रभावकारी भूमिका निभाउन निर्देशन पठाइनेछ।
सरकारको लक्ष्य स्पष्ट छ—स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा आगामी प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने।



