
धनगढी । इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीले विभिन्न मुद्दामा अदालतको फैसला भुक्तान नगरी फरार रहेका २२ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
मंगलबार इप्रका मालाखेतीबाट खटिएको प्रहरी टोलीले जिम्मेवारी क्षेत्रअन्तर्गतका विभिन्न स्थानमा लुकीछिपी बसेका ती व्यक्तिहरूलाई फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

जिल्ला अदालत कैलालीले सुनाएको कैद र जरिवाना तिर्न बाँकी रहेका ती प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि विशेष टोली परिचालन गरिएको थियो। त्यसक्रममा फरार प्रतिवादीहरूलाई पृथक–पृथक स्थानमा पक्राउ गरिएको हो।
इप्रका मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कैलालीमा बुझाइएको छ।
डिएसपी रणबहादुर चन्दले कार्यभार सम्हालेको केहि महिनामै अपराध नियन्त्रणसँगै अवैध सामानबरामद गर्ने कार्यमा उल्लेखनीय प्रगति भएको छ।



