
काठमाडौँ – नेपाल प्रहरीले राजधानी केन्द्रित अन्तरदेशीय लागूऔषध कारोबारमा ठूलो प्रहार गर्दै करिब एक किलो (९५७ ग्राम) खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो (NCB) का प्रहरी नायब निरीक्षक विचित्र मगर नेतृत्वको टोलीले लामो अनुसन्धान तथा निगरानीपछि भारतबाट नियमित रूपमा खैरो हिरोइन ल्याइरहेको समूहलाई नियन्त्रणमा लिन सफल भएको हो।
पक्राउ पर्नेमा सप्तरी–राजविराजका रविआनन्द देव (३९), भारतका राजा कुमार (२३), देवेन्द्रकुमार शाह (२१) र मोरङका पुष्प मगर (२९) रहेका छन्। उनीहरूलाई आईतवार काठमाडौँमा सार्वजनिक गरिएको ब्युरोका सह–प्रवक्ता प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए।

यादवका अनुसार विशेष सूचनाको आधारमा काठमाडौँका विभिन्न स्थानमा एकसाथ अपरेसन सञ्चालन गरिएको थियो। जोखिमपूर्ण र चुनौतीपूर्ण अवस्थामध्ये पनि समन्वित रूपमा अपरेसन सफलतापूर्वक सम्पन्न भएको उनले बताए।
तीन स्थानबाट करिब एक किलो खैरो हिरोइन बरामद
पनेरुगाउँ, काठमाडौँ–१३
राजविराजका रविआनन्द देव बस्दै आएको कोठामा प्रहरीले छापा मार्दा २७२ ग्राम खैरो हिरोइन बरामद गरिएको ब्युरोले जनाएको छ।
ढुङ्गे अड्डा, चन्द्रागिरि
भारतीय नागरिक राजा कुमार र देवेन्द्रकुमार शाहले स्कर्पियो गाडीमार्फत भारतबाट ल्याएको खैरो हिरोइनसहित पक्राउ परे। ‘टाइम्ड अपरेसन’मार्फत गरिएको नियन्त्रणका क्रममा ५९२ ग्राम हिरोइन फेला परेको प्रहरीले जनाएको छ।
कोटेश्वर, काठमाडौँ
समूहका अर्को सदस्य पुष्प मगरलाई कोटेश्वर क्षेत्रबाट नियन्त्रणमा लिँदा ९३ ग्राम हिरोइन बरामद भएको छ।
आईजीपी कार्कीका लागि कार्यकालको पहिलो ठूलो उपलब्धि —
हालै मात्र पदभार ग्रहण गरेका आईजीपी दानबहादुर कार्कीको कार्यकालमा यही समूहमाथि गरिएको यो कारबाही पहिलो ठूला सफलताको रूपमा हेरिएको छ।
उनको नेतृत्वमा ‘शून्य सहिष्णुता’ नीतिसहित प्रहरी संगठन संगठित अपराध र अन्तरदेशीय लागूऔषध कारोबारविरुद्ध कडा रूपमा अघि बढ्नुको संकेत यो अपरेसनले दिएको छ।
सई विचित्र मगरको टोलीको भूमिकालाई उच्च प्रशंसा—
लागूऔषध नियन्त्रण ब्युरोमा कार्यरत सई विचित्र मगर लगातार जोखिमपूर्ण अपरेसनमा अग्रसर हुने, अनुशासित र दायित्वशिल अधिकारीका रूपमा परिचित मानिन्छन्।
ट्र्याकिङ, गोप्य सूचनाको विश्लेषण, अपरेसन तालमेल र फील्ड नियन्त्रक भूमिकामा मगरको नेतृत्व निर्णायक रहेको ब्युरो स्रोतहरूको भनाइ छ।
यसपटक बरामद ठूलो परिमाणको खैरो हिरोइन नेपालमै रहेका मुख्य एजेन्टको सक्रियतासहित पक्राउ पर्नुले अन्तरदेशीय कारोबारमा नेपाली संलग्नता गहिरिँदै गएको तथ्य पनि उजागर भएको प्रहरीको निष्कर्ष छ।
‘राजधानी सुरक्षित’ अभियानमा थप बल
यो अपरेसनले— राजधानी केन्द्रित अन्तरदेशीय लागूऔषध कारोबार प्रहरीको कडा निगरानीमा रहेको र नयाँ नेतृत्व अपराधविरुद्ध आक्रामक ढङ्गमा अघि बढिरहेको,साथै ब्युरोको फिल्ड–अपरेसन क्षमता थप प्रभावकारी बनेको जस्ता स्पष्ट सन्देश दिएको छ।
नेपाल प्रहरीको पछिल्लो कदमले लागूऔषध नियन्त्रण तथा नागरिक सुरक्षित वातावरण निर्माणको प्रयासलाई नयाँ उचाइमा पुर्याएको अधिकारीहरू बताउँछन्।



