
धनगढी । कैलालीमा प्रहरीले अपराध नियन्त्रण र सुरक्षाको प्रत्याभूति दिलाउन सक्रियता बढाएपछि १२ दिनमै उल्लेखनीय सफलता हासिल गरेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीले लागूऔषध दुव्र्यसनी, फरार प्रतिवादी र जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी पक्राउ अभियानलाई तीव्रता दिएको हो।
११ देखि २२ कात्तिकसम्मको अवधिमा प्रहरीले ५९ जनालाई पक्राउ गरी कानुनी कारवाही अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार लागूऔषध दुव्र्यसनीमा संलग्न २५ जनालाई पक्राउ गरी ३१ ग्राम १३० मिलीग्राम खैरो हेरोइन बरामद गरिएको छ। यस सम्बन्धमा १५ वटा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको छ।
त्यसैगरी, फरार प्रतिवादीका २१ जना पक्राउ परेका छन्। तीमध्ये चालु मुद्दाका ५ र फैसला कार्यान्वयनका १६ जना रहेका छन्। पक्राउ परेकाहरूको जम्मा सजाय अवधि आठ महिना १४ दिन कैद र जरिवाना तीन लाख १० हजार १७६ रुपैयाँ रहेको छ।
यस्तै, जेनजी आन्दोलनको अवसरमा २४ भदौमा कैलाली कारागारबाट भागेका १३ जना कैदीबन्दीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ—जसमध्ये ९ जना कैदी र ४ जना बन्दी रहेका छन्।
पक्राउ परेकाहरूलाई कानुनअनुसार कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दका अनुसार, लागूऔषध नियन्त्रण, फरार प्रतिवादी र कारागारबाट भागेकामाथि केन्द्रित अभियानलाई अझ प्रभावकारी बनाइनेछ।
‘समाजमा सुरक्षाको प्रत्याभूति र अपराध नियन्त्रण गर्नु नेपाल प्रहरीको प्रमुख प्राथमिकता हो,’ एसपी चन्दले भने, ‘लागूऔषध नियन्त्रणलाई अभियानका रूपमा अघि बढाएका छौँ र फरार तथा भागेका कैदीबन्दीहरूलाई कानुनी दायरामा ल्याउने कार्य निरन्तर रहनेछ।’



