सर्लाही, लालबन्दी — इलाका प्रहरी कार्यालय लालबन्दीले हालै बढिरहेका चोरीका घटनालाई नियन्त्रण गर्न समुदायस्तरमा सचेतना अभियान सुरु गरेको छ। विशेषगरी घनाबस्ती रहेको लालबन्दी र नवलपुर बजार तथा आसपासका बस्तीमा चोरीका घटना बढेपछि प्रहरीले जनचेतनामूलक कक्षा सञ्चालन गरेको हो।

यसै क्रममा आज (लालबन्दी नगरपालिका–५) जरुवा पानीस्थित नेपाल रेडक्रस सोसाइटीको सभाहलमा उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष महेशकुमार महतोसहित लालबन्दी क्षेत्रका अगुवा, व्यापारी तथा स्थानीयवासीको उपस्थितिमा सचेतनामूलक कक्षा सञ्चालन गरिएको थियो।

इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार मुख्य चाडपर्वअघि नगरपालिकाभित्र १२ वटा चोरीका घटना भएका थिए। ती घटनामा संलग्नमध्ये एक जनालाई सर्लाही जिल्ला अदालतले दुई महिना कैद सजाय तोकी कारागार चलान गरेको छ। अर्का एक जना पूर्पक्षका लागि थुनामा रहेका छन् भने थप एक जना अनुसन्धानको क्रममा प्रहरी हिरासतमा छन्।

इलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीका अनुसार सामान्य सावधानी नअपनाउँदा स–सानाखाले चोरीका घटना हुने गरेको पाइएकाले अब समुदायलाई सचेत बनाएर यस्ता घटना न्यूनिकरण गर्न अभियान सुरु गरिएको हो।

उनका अनुसार घरमा सिसी क्यामेरा जडान गर्ने, बहुमूल्य गरगहना घरमा नराख्ने, घर छाड्दा आफन्त वा छरछिमेकीलाई जानकारी दिने, आवश्यक परे प्रहरीलाई खबर गर्ने जस्ता सावधानीका उपायबारे नागरिकलाई सचेत गराइँदै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय