काठमाडौं । तीन दिनदेखि फरार रहेका डा. निकोलस भुसाललाई प्रहरीले अन्ततः गोरखाबाट पक्राउ गरेको छ । ‘मृगस्थलीमा छु’ भन्दै प्रहरीलाई भ्रममा पार्ने प्रयास गरेका भुसाललाई प्राविधिक ट्र्याकिङको सहायताले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमको सन्त निवास हलबाट नियन्त्रणमा लिइएको हो ।

मङ्गलवार साँझ उनले ४४ मिनेट लामो फेसबुक लाइभ गर्दै रुद्राक्षको माला जप्दै, भित्तामा भगवानका तस्बिर टाँगिएको हल देखाएका थिए । ‘गोकर्णनाथ मृगस्थलीबाट बोल्दै छु,’ भन्दै उनले भिडियोमा भनिरहेका थिए । यो सुनेपछि काठमाडौं प्रहरी तत्काल सक्रिय भएको थियो ।

तर, प्राविधिक टोलीले भिडियोको आइपी एड्रेस, नेटवर्क टावर, र ब्याकग्राउन्डको विश्लेषणमार्फत वास्तविक स्थान पत्ता लगायो—गोरखा । काठमाडौं प्रहरीले गोरखा प्रहरीसँग समन्वय गरी रातारात टोली पठाएको थियो । प्रहरी पुग्दा भुसाल सन्त निवासको हलमै सुतिरहेको अवस्थामा फेला परे । घाँटीमा रुद्राक्ष र फूलको माला, गालामा ‘सिताराम’ लेखिएको पिताम्बर लगाएका भुसाल ब्यूँझँदा हत्कडी लगाइसकिएको थियो ।

शनिवार संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै भुसालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई “हत्यारा” भनेका थिए । २३ भदौको जेन–जी आन्दोलनमा एकैदिन २२ जनाको मृत्यु भएको घटनालाई लिएर उनले हिंसात्मक अभिव्यक्ति दिएका थिए । त्यसपछि उनले फेसबुकमा वर्तमान प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र काठमाडौंका मेयर बालेन शाहलाई समेत धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए । दिउँसो २ बजे माइतीघरमा प्रदर्शनमा आउन आह्वान गरेपछि उनी बेपत्ता भएका थिए ।

लाइभको रियल–टाइम लोकेशन ट्र्याकिङ, आश्रमको सिसिटिभी फुटेज, र स्थानीय सन्तहरूसँगको सोधपुछपछि प्रहरीले तीन घण्टामै उनको ठेगाना पत्ता लगाएको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय